धरान: डेंगुको प्रकोप फैलिएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा छुट्टै डेंगु क्लिनिक सञ्चालनमा ल्याइएको छ । 

सर्वसाधारण विरामीहरुलाई सहजरुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले प्रतिष्ठानले अलग्गै डेंगु क्लिनिक सञ्चालनमा ल्याएको हो । प्रतिष्ठानका अनुसार धरान उपमहानगरपालिकासँगको सहकार्यमा असार २९ गतेदेखि क्लिनिक सञ्चानलमा आएको हो । प्रतिष्ठानको जी.ओ.पी.डी. भवन अगाडि टेण्ट टाँगेर डेंगु क्लिनिकमार्फत उपचार सेवा प्रवाह भइरहेको छ । 

उक्त क्लिनिकमा प्रतिष्ठानबाट चिकित्सक, नर्स, पारामेडिक्स लगायत जनशक्तिको व्यवस्था गरिएको छ भने धरान उपमहानगरपालिकाले ५ सय थान डेंगु परिक्षण किट उपलब्ध गराएको छ । यस्तै,उपचारका लागि आउने सर्वसाधारणका लागि टेन्ट, कुर्सीको व्यवस्था पनि उपमहानगरपालिकाले गरिदिएको प्रतिष्ठानका सहायक प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए । 

अस्पताल प्रशासनका अनुसार क्लिनिक सातै दिन संचालनमा रहनेछ । क्लिनिक आइतबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म र शनिबार बिहान ९ बजेदेखि १२ बजेसम्म संचालनमा रहने छ । क्लिनिकमा आउने विरामीहरुका लागि डेंगुको परिक्षण निःशुल्करुपमा गरिने व्यवस्था गरिएको छ । 

अस्पताल प्रशासनका अनुसार असार २९ गते देखि ३१ गतेसम्म उक्त क्लिनिकमा १२१ जनाको परिक्षण गरिएको थियो । ती मध्ये ९६ जना (७९.३५ प्रतिशत) मा डेंगु संक्रमण देखिएको छ । उनीहरु बालकदेखि बृद्धसम्म सबै उमेर समुहका विरामीहरु र केही गर्भवती महिलाहरु पनि रहेका छन् । परिक्षणमा धरानको १५, १७ र ११ नम्बर वडाबाट बढि संक्रमितहरु देखिएको छ । 

डेंगु क्लिनिकमा जंचाउन आउंदा विरामीले पहिला ओ.पी.डी. टिकट लिएर क्लिनिकमा जानुपर्ने हुन्छ । त्यहाँ चिकित्सक, नर्सहरुले जांच गरे पश्चात र्यापिड किटको माध्यमबाट परिक्षण गरि डेंगु भए नभएको तुरुन्तै पत्ता लाग्छ । परिक्षणबाट डेंगु संक्रमित देखिएमा अन्य आवश्यक जाँच तथा परिक्षणहरुका लागि प्रतिष्ठानको ल्याबमा पठाइन्छ । घातक हुनसक्ने लक्षणहरु रक्तचापमा कमी हुनु, मुटुको धड्कन बढ्नु, गिजा तथा शरिरमा आएका डाबरहरुबाट रक्तश्राव हुनु, छिनछिनमा वान्ता हुनु, पेट दुख्नु आदि भएका विरामीहरुलाई इमर्जेन्सी पठाएर उपचार गरिने डा.पोखरेलले बताए । 

परिक्षणबाट डेंगु देखिएका तर स्वभाविक लक्षणहरु उच्च ज्वरो, शरिर तथा हाडजोर्नीहरुको दुखाई, वाकवाकी, पखाला, कमजोरी, शरिरमा डाबर (कसैकसैलाई) आदि भएका विरामीहरुलाई चिकित्सकको परामर्श दिई घर पठाउने वा अवस्था हेरि प्रतिष्ठानमै उपचार गरिने व्यवस्था गरिएको छ । छुट्टै संचालित डेंगु क्लिनिकका कारण विरामीहरु निःशुल्क परिक्षण लगायत चिकित्सकको उपचार सेवा सहजरुपमा पाउंदा सर्वसाधरणलाई राहत हुने पनि अस्पताल प्रशासनले जनाएको छ । 

डेंगुका विरामीहरुको चाप देखिएको तर ५ सय थान मात्र निःशुल्क किट उपलब्ध भएकोले प्रतिष्ठानले थप किटका लागि उपमहानगरपालिका, प्रदेश स्वास्थ्य मन्त्रालय, संघीय स्वास्थ्य मन्त्रालयहरुसँग पहल गरिएको प्रतिष्ठालने जनाएको छ । उपमहानगरपालिकाबाट थप २ सय थान तथा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य मन्त्रालाय, काठमाडौंबाट २ हजार थान डेंगु परिक्षण किट उपलब्ध गराउने आश्वासन प्राप्त भएको पनि प्रतिष्ठानले जनाएको छ ।