धरान: धरान १९ स्थित किराँतेश्वर माविमा यो शैक्षिक सत्रदेखि कक्षा ११ मा कानुन र व्यवस्थापन विषयको अध्यापन शुरु हुने भएको छ । 

विद्यालयले बुधबार पत्रकार सम्मेलन गर्दे यसैबर्षदेखि कक्षा ११ को अनुमति पाएको जानकारी दिएको हो । यो विद्यालय २०३० सालमा स्थापना भएको हो । कक्षा ११ मा कानुन बिषयको पढाई हुने यो पहिलो विद्यालय पनि हुनेछ । धरानको वडा १९ मा रहेको यो एउटा मात्रै सरकारी विद्यालय पनि हो । 

स्थानीय अभिभावक र विद्यार्थीहरुको माग अनुसार ल (कानुन) र कमर्श विषय सञ्चालनमा ल्याएको प्रअ योगेन्द्र पालुङ्वाले बताए । कानुन पढ्न चाहने विद्यार्थीहरु इटहरी, विराटनगर वा काठमाण्डौं पढ्न जानुपर्ने बाध्यता अन्त्य गर्दै धरानमै पहिलो पटक किरातेश्वरमा पढाई शुरु गर्न लागेको प्रअ पालुङ्वाले बताए ।

‘अहिलेसम्म कानुन पढ्न चाहने विद्यार्थीहरुले डिप्लोमा सकेर मात्र महेन्द्र कलेजमा एलएलवि पढ्न पाउथे । अब ल पढ््न चाहने विद्यार्थीहरुलाई सजिलो हुन्छ,’ उनले भने,‘अहिलेको समयमा धेरै व्यक्तिहरुले उपल्लो डिग्री हासिल गरेपनि कानुनको ज्ञान नहुदा सानो कुरामा पनि दुःख पाउछन् । कानुन पढेर स्वरोजगार बन्न, लेखापढी सेन्टर खेल्न सकिन्छ । थप अध्ययन गरेर अधिवक्ता बन्न या कुनै पनि संघसंस्थाको कानुनी सल्लाहकार बन्न यो बिषय उपयोगी हुन्छ ।’

kirateswor2

किरातेश्वरमा यसपाली पहिलो पटक प्लस टु सञ्चालन हुन लागेको हो । त्यसैले यो बर्ष विद्यार्थीहरुलाई निःशुल्क भर्नाको अवसर दिइनेछ भने एक सेट किताब पनि निःशुल्क वितरण गरिने विद्यालयले जनाएको छ । सरकारी विद्यालयमा प्लस टुसम्म निःशुल्क शिक्षा भने तापनि कतिपय विद्यालयले अतिरिक्त क्रियाकलाप भन्दै वार्षिक शुल्क चर्कै लिने गरेको छ । यो विद्यालयमा न्युनतम मासिक शुल्क ८ सय मात्र रहेको छ भने परीक्षाको लागि ढेड सय मात्रै शुल्क लिइनेछ । ‘सबैको हिसाब गर्दा एक बर्षमा १० देखि ११ हजारसम्म हुन आउछ । यसमा पनि आर्थिक अवस्था कमजोर विद्यार्थीलाई सिफारिसको आधारमा छुट दिन सकिन्छ,’प्रअ पालुङ्वाले भने । 

धरान १९ मा अवस्थित सरकारी विद्यालयलाई वडा कार्यालयबाट आर्थिक, भौतिक सहयोग गर्दै आएको वडा अध्यक्ष पूर्ण लिम्बुले बताए । ०७४ सालमा निर्वाचित भए पछि नै उक्त विद्यालयलाई प्लस टु बनाउनका लागि निरन्तर पहल गरेको र अहिले सफल भएको पनि उनले बताए । वडा अध्यक्ष लिम्बुले खुसी व्यक्त गर्दै भने,‘वडा भित्र अरु सरकारी विद्यालय नभएकोले अन्यसँग मर्ज गर्न पनि सम्भव छैन । ढिलो नै भए पनि प्रकृया पुराएर मावि सञ्चालनको अनुमति यो वर्षदेखि पाएका छौं ।’

kirateswor1 copy

विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको लागि स्थानीयले आर्थिक संकलन गरेर आवश्यक कपी, कलम, पोशाकाहरु वितरण गर्दै आएको छ । वडा कार्यालयबाट पनि भौतिक संरचना, खेलकुदका सामग्री तथा आवश्यकता अनुसार सहयोग गर्दै आएको वडा अध्यक्ष लिम्बुले बताए । यो नयाँ आर्थिक बर्ष ०८०/८१ को बजेटमा वडामा ५६ लाख कटौती भएको र ७९/८० मा ४१ लाख बजेट नआएकोले विकास र कार्यक्रमका कतिपय दायित्व बाकी नै रहेको हुदा चाहे जस्तो संघसंस्थाहरुलाई यो वर्ष सहयोग गर्न नसकिने पनि उनले बताए । ‘तथापी अघिल्लो वर्षमा नै स्विकृत भएको फर्निचर भदौसम्ममा विद्यालयलाई २५ थान टेवल बेन्च दिईनेछ,’उनले भने ।

सधै अरुसँग अपेक्षा गर्नु भन्दा पनि विद्यालयको व्यवस्थापन र संचालनमा सहयोग पुग्ने उद्देश्यले व्यवस्थापन समिति, विद्यालय प्रशासन, स्थानिय वडावासी र जनप्रतिनिधिको संयुक्त पहलमा १५ लाख बराबरको अक्षयकोष निमार्णका लागि आर्थिक संकलन पनि गरिरहेको व्यवस्थापन समितिका अध्यक्ष देउमान ताप्मादेनले बताए । 

भिडियो: