धरान: धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट गरेका छन्। 

भेटका क्रममा उप-प्रमुख बेघाले धरानका समस्याहरु, विकास र समृद्धि विषय प्रधानमन्त्री प्रचण्ड समक्ष राखेको सचिवालयले जनाएको छ । उपमेयर बेघाले धरानमा कोशी राजमार्गको मापदण्ड कार्यपालिका बैठकले ७२ फिट तोकेको बिषयमा प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका छन् ।

यस्तै, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट अलग गर्न पनि माग गरेका थिए । प्रतिष्ठान धराशायी बनेको र यसलाई व्यवस्थित गर्न माग गर्दै उपमेयर बेघाले छाता ऐन मार्फत केन्द्रीकृत तरिकाबाट संचालन गर्दा स्थानीय जनताप्रति उत्तरदायी नहुने पनि धारणा राखेको उपप्रमुखका स्वकीय सचिव खेम रनपहेलीले जानकारी दिएका छन् । 

यस्तै, धरान ११ मंगलबारेदेखि विष्णुपादुका हुँदै सुर्यकुण्डसम्म पुग्ने सडक, सप्तकोसीबाट पानी ल्याएर खानेपानी व्यवस्थापनका लागि बजेट सुनिश्चितता गरिदिन पनि उपप्रमुख बेघाले प्रधानमन्त्री प्रचण्डसमक्ष आग्रह गरेका छन्। धरानको बुढासुब्बा, पिण्डेश्वर, चिण्डेडाँडा, दानाबारी आदि क्षेत्रमा पर्यटन विकास लागि सडक पुर्वाधारको लागि बजेट व्यवस्थापन गरिदिन पनि उपप्रमुख बेघाले आग्रह गरेका छन्।

यसैगरि, धरानको सभागृह तथा नाटकघर जीर्ण अवस्थामा रहेकोले यही आर्थिक बर्षमा बजेट व्यवस्थापन गरिदिन पनि आग्रह गरेका छन्। सर्दु र सेउती खोलाले बर्षेनी आसपासको बस्तीलाई दुःख दिने गरेकोले दिर्घकालिन समाधानका लागि रिटेनिङ वालका लागि पनि बजेट माग गरेका छन् ।