धरान: डेंगु महामारीको कारण प्लेटलेटको माग अत्यधिक भएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित नेपाल रेडक्रस सोसाइटी सुनसरीको ब्लड बैंक (रक्तसञ्चार केन्द्र)मा रगतको अभाव देखिएको छ ।

डेंगुका विरामीहरुलाई प्लेटलेटको आवश्यकता बढी हुने भएकोले फ्रेस रगतको अभाव भएको ब्लड बैंकका इञ्चार्ज सुवा सिंहले बताए । उनले भने,‘एक साता त एकदमै अभाव थियो । आज रक्तदान भएर केही राहत मिलेको छ । डेंगो विरामीलाई प्लेटलेट चाहिन्छ, त्यसको लागि फ्रेस रगत आवश्यक पर्छ ।’ डेंगु हुँदा विरामीको प्लेटलेट घटाइदिने र ज्यान पनि जोखिममा पर्छ । डेंगु भएको बेला शरीरमा रक्तस्राव हुँदा ज्यानको खतरा हुने भएकोले प्लेटलेट चढाउनुपर्छ । शरीरमा ५० हजार भन्दा कम प्लेटलेट भयो भने खतरा हुने स्वास्थ्यकर्मीहरुको भनाई छ । 

सुनसरी उवासंघले धरानमा रक्तदान गर्ने

रगत अभाव पुर्ति गर्न भोली (बिहिबार) बिहान सुनसरी उद्योग वाणिज्य संघले धरानमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बिहान साढे ७ बजे संघको कार्यालयमा रक्तदान हुने कार्यक्रम संयोजक रामस्वरुप शर्माले जानकारी दिए । उनले भने, ‘डेंगुको कारण रगतको ज्यादै अभाव भएकोले रक्तदान कार्यक्रम आयोजना गर्दैछौं, रक्तदान गरेर जीवन बचाउन सबैलाई हार्दिक अपिल गदैछौं ।’

संघका कार्यवाहक अध्यक्ष गोपाल श्रेष्ठले व्यापारी, व्यवसायीको हकहितसँगै संघले सामाजिक सेवाको काम पनि गर्ने गरेको छ । धरानमा डेंगुको कारणले मानिसको मृत्यु समेत भइरहेको कारण रगत अभावले भयावह स्थिति नहोस् भनेर रक्तदान कार्यक्रम गरिएको उनले बताए ।