धरान: मेयर हर्क साम्पाङ आउदो शनिबार वृहत वृक्षारोपणको लागि धरान ४ स्थित छोटीमोरङ डाँडामा पुगे स्थानीय जग्गाधनीहरुसँग मुठभेड हुने खतरा बढेको छ ।

मेयर साम्पाङले अघिल्लो २ शनिबार पनि सोही स्थानमा वृक्षारोपण गरेका थिए भने आउदो शनिबार पनि वृक्षारोपण त्यही गर्न सामाजिक सञ्जाल फेसबुकबाट आह्वान गर्दे आएका छन् । यद्यपी, उनले वृक्षारोपण गर्ने भनिएको पुर्व वडाअध्यक्ष रोशन अधिकारीकी श्रीमति रोजिनाको नाममा रहेको जग्गामा वृक्षारोपण नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरिसकेको छ । 

सामाजिक सञ्जालमा सक्रिय रहने मेयर साम्पाङले अदालतको आदेशबारे भने यो समाचार तयार पार्दासम्म कुनै प्रतिक्रिया दिएका छैनन् । उनले यतिमात्र लेखेका छन्,‘जग्गा माफियाहरुको पक्षमा नउभिन सबैलाई अनुरोध छ, अन्यथा कानुनी कारबाहीको भागीदार बन्नु पर्नेछ । बित्थामा के झमेला मोल्नु सरकार विरुद्ध लागेर ।’

उनका समर्थकहरु भने शनिबार छोटीमोरङ डाँडामा वृक्षारोपणमा जाने तयारीमा नै जुटेका छन् । त्यसको लागि धरानको विभिन्न चोकहरुबाट गाडीको पनि व्यवस्था गर्ने भन्दै फेसबुकमार्फत वृक्षारोपणमा आउन आह्वान गरिरहेका छन् । अदालतको आदेश पछि मेयर साम्पाङ के गर्छन् भन्नेमा पनि सबैबाट चासो व्यक्त भइरहेको छ ।

मेयर साम्पाङ र उनका समर्थक वृक्षारोपणको तयारी गरिरहदा छोटीमोरङका जग्गाधनीहरुले पनि संघर्ष समिति गठन गरेर प्रतिकार गर्ने तयारीमा छन् । उनीहरुले बिहिबार पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतको पछिल्लो फैसलामा उक्त जग्गाहरु यथास्थितिमा राख्नु भनेकोले उक्त आदेशको पालना गर्न मेयर साम्पाङलाई आग्रह गरेका छन् । अदालतको आदेश वमोजिम कसैले पनि केही गर्न नमिल्ने भएपनि मेयर साम्पाङले व्यक्तिको निजी जग्गामा जर्बजस्ती विरुवा रोपिरहेको संघर्ष समितिका अध्यक्ष कर्णबिक्रम लिम्बुले बताए । उनले भने,‘कानुन सम्मतढंगले हामीले दुःखले कमाएको पैसाले जग्गा किनेका हौं । अहिले सर्वोच्च अदालतबाटै रोक्का भएको छ, र यथास्थितिमा राख्नु भनेको छ । त्यसैले मेयर ज्युले पनि त्यहाँको जग्गामा केही गर्न मिल्दैन । वृक्षारोपण नगरिदिन आग्रह गछौं ।’

parwat rai

उनले २७२ घरपरिवार पीडित भएकोले न्यायको लागि संघर्ष समिति गठन गरेको पनि बताए । सरकारी कार्यालय, सर्वोच्च अदालत, अख्तियार र उपमहानगरपालिकाले नै छोटीमोरङको जग्गालाई वैधता दिएर स्वीकृत गरेकोले आफुहरुले किनेको पनि उनले बताए । तर, मेयर साम्पाङ र उनका समर्थकहरुबाट भुमाफियाको संज्ञा दिएकोले पीडामा झन् पीडा थपेको उनले बताए । 

अर्का, जग्गाधनी एवं नेपाली कांग्रेसका नेता पर्वत राईले पनि शनिबार विरुवा रोप्न नआउन मेयर साम्पाङलाई आग्रह गर्दै जर्बजस्ती गरेमा प्रतिकारमा उत्रने चेतावनी दिए । उनले सर्वोच्च अदालतले रोक्का गरेपनि त्यो हालसम्म आफुहरुकै स्वामित्वको जग्गा भएकोले वृक्षारोपण नगर्न चेतावनी दिए । अदालतले पनि कसैलाई केही नगर्न आदेश दिएको तर मेयर साम्पाङले उल्लंघन गरेर विरुपा रोपिरहेको भन्दै उनले आउदो शनिबार पनि आए आफुहरुले प्रतिकार गर्ने बताए । ‘मेयरलाई सर्वोच्च अदालतको आदेश मान्न आग्रह गछौं । मेयरले नमान्ने हो भने हामी पनि मान्दैनौं । हाम्रो जग्गा संरक्षण गर्न हामी आउछौं, त्यो बेला जे पनि हुनसक्छ, र त्यसको जिम्मेवारी मेयरले नै लिनुपर्छ,’उनले भने । 

आफुहरुले कानुन सम्मत जग्गा खरीद गरेको भन्दै उनले विगतमा सट्टाभर्ना दिइसकेको जग्गा हो भने खरीद बिक्री गर्न दिने अदालत, अख्तियार, मालपोत र नापी कार्यालय, उपमहानगरपालिकाले किन स्वीकृति दिएको भन्दै उनले प्रश्न पनि गरे । सर्वोच्चको पुर्ण इजलाशबाट आफुहरुको जग्गा सर्दु जलाधार क्षेत्रकै भएको अन्तिम फैसला भए पनि आफुहरु न्यायको लागि लड्ने उनले बताए । ‘हामीले त पहिला सर्वोच्च अदालतले नै गरेको फैसला हेरेर, अख्तियारबाट क्लिनचिट पाएको देखेर किनेको हो । सट्टाभर्ना पाएको थियो भने किन खरीदबिक्री गर्न दियो ? नगरपालिकाले किन सिफारिश दियो ?’उनले भने,‘हामीले जग्गा पाउदैनौं भने जो जो संलग्न छन्, सबैलाई कारबाही हुनुपर्छ, र हामीले क्षतिपूर्ति पाउनुपर्छ ।’

भिडियो:

भिडियो: