धरान: मेयर हर्क साम्पाङले अदालतको सम्मान गर्ने बताएका छन् ।

धरान ४ छोटीमोरङस्थित पुर्ववडाअध्यक्ष रोशन अधिकारीको श्रीमति रोजिनाको नाममा रहेको जग्गामा वृक्षारोपण नगर्न उच्च अदालत विराटनगरले बिहिबार अन्तरिम आदेश दिएको थियो । उक्त आदेश पछि मेयर साम्पाङले बिहिबार राती प्रतिक्रिया दिदै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,–‘अदालतलाई सम्मान गर्छु ।’

उनको यो प्रतिक्रियासँगै आउदो शनिबार छोटीमोरङ डाँडामा हुने वृहत वृक्षारोपण कार्यक्रम रोकिने अनुमान गरिएको छ । यसअघि भने उनले शनिबार हजारौं जनता उतार्ने भन्दै वृक्षारोपणमा आउन आह्वान गरेका थिए । जग्गाधनी तथा वडा नं १ का पुर्वअध्यक्ष रोशन अधिकारीले आफ्नो जग्गामा जर्बजस्ती विरुवा रोप्न आए प्रतिवाद गर्ने चेतावनी फेसबुकमार्फत दिएका थिए । बिहिबार नै छोटीमोरङ जग्गा पीडित संघर्ष समितिले पनि पत्रकार सम्मेलन गर्दै शनिबार मेयर साम्पाङ र उनका समर्थकहरु विरुवा रोप्न आए प्रतिकार गर्ने चेतावनी दिएका थिए । 

मेयर जसरी पनि विरुवा रोप्न जाने र स्थानीय जग्गाधनीहरु प्रतिवादमा उत्रने भएपछि शनिबार भिडन्त हुने खतरा बढेको भन्दै धरानबासीहरु चिन्तित थिए । तर, उच्च अदालत विराटनगरले व्यक्तिको नाममा दर्ता भएको जग्गा धनीपुर्जाबाट देखिएकोले मुद्दाको अन्तिम टुंगो नलागेसम्म वृक्षारोपण गर्न, नगराउन अन्तरिम आदेश जारी गरेको थियो । यो आदेश पछि मेयर साम्पाङले अदालतलाई सम्मान गर्ने प्रतिक्रिया दिएसँगै शनिबारको भिडन्त हुने खतरा टरेको छ । 

mayor