धरानः ४१ औं वी.पी.स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेसले धरानमा ग्रीन एण्ड क्लिन धरान अभियान थालेको छ । 

शुक्रबार धरानको वडा नं. १ र २ मा कांग्रेसले गीन एण्ड क्लिन धरान अभियान सम्पन्न गरेको छ । यो अभियानमा न्यूनतम् एक घर एक विरुवा रोपरे ग्रीन धरान बनाउने लक्ष्यसहित विरुवा वितरण गरिएको नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङले जानकारी दिए । उनका अनुसार ग्रीन एण्ड क्लिन अभियानसँगै सडक सरसफाई, डेङ्गुको लार्भा नष्ट गर्ने तथा डेङ्गु सम्बन्धी सचेतना पर्चा वितरण पनि गरिएको छ । 

हरेक वडामा घरघरमा गएर कम्तीमा एक विरुवा रोप्ने, सडक सरसफाई गर्ने तथा डेङ्गुको लार्भा नष्ट गर्ने कार्य र सचेतनामूलक पर्चा वितरण गर्ने कार्य गरिने पनि उनको भनाई छ । कांग्रेसका पूर्व नगर सभापति किशोर राईले यो अभियानवाट जनतामा सकरात्मक सन्देश गएको बताए । साथै, उनले नगरवासीहरु पनि खुशी भएको र अभियानले कांग्रेसलाई जनताको घरघरमा पु¥याएको उनले प्रतिक्रिया दिए ।

congress green2

कार्यक्रम संयोजक मचिन्द्र राईका अनुसार घर कम्पाउण्ड तथा करेसावारीमा रोप्न सकिने तेजपत्ता, अमला, टांकी, धुपी, चिउरी, हर्रावर्रा, कागती, कफी, शिरिस, सिसौं, लप्सी, बकाइनो, पारिजात लगायतका विरुवाहरु वितरण गरिएको छ । ग्रीन एण्ड क्लिन धरान अभियान भदौ १० गतेसम्म एक महिना सञ्चालन हुने क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले जानकारी दिए । 

नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरेले अभियान अत्यन्तै राम्रो भएको उल्लेख गर्दै एक–दुई सय तेजपत्ताको विरुवा उपलब्ध गराईदिन आग्रह पनि गरे । उनले आफु पनि घरघरमा विरुवा वितरण गरी अभियानमा जोडिने बताए । 

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको आयोजनामा सञ्चालित अभियानमा कांग्रेसको कोशी प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेशसभा १(१) र १(२) कार्यसमिति, नगर कार्यसमिति, वडा कार्यसमिति र भातृ तथा शुभेच्छुक संघसंस्थाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

congress green1