धरान: डेंगुको महामारी फैलिएको धरानमा जेठ तेस्रो साता यता मात्र ८ जनाको ज्यान गइसकेको छ । डेंगु नियन्त्रणमा आउनुको साटो झन् फैलिइरहेको छ, र हरेक घरमा डेंगु विरामी भएको अनुमान छ ।

डेंगुले महामारीकोरुप लिइसक्दा पनि स्थानीय सरकारले ठोस योजना बनाउन नसकेको र प्रभावकारी कदम नचालेको भन्दै आलोचना पनि भइरहेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र निजी क्लिनिक तथा स्वास्थ्य संस्थाहरुमा डेंगुका विरामीको घुइचो छ । निजी क्लिनिकहरुले डेंगु परीक्षणमा लागत भन्दा चर्को मुल्य असुल गरिरहे पनि स्थानीय सरकारले अनुगमन र मुल्य निर्धारण नगर्दा सर्वसाधारण जनता थप आहत छन् ।

मेयर हर्क साम्पाङ र स्वास्थ्य महाशाखाको टोलीले टोल टोलमा सर्च एण्ड डिष्ट्रोय भने नगरेको होइन । धरानका सबै टोल विकास संस्थालाई बोलाएर आआफ्नो टोलमा अभियान गर्न मेयर साम्पाङले आग्रह पनि गरेका थिए भने विद्यालयका प्रअहरुलाई बोलाएर उपमहानगरपालिकाले आफ्ना विद्यार्थीहरुलाई लार्भा नष्ट गर्ने ज्ञान दिलाउन आग्रह गरेको थियो । तर अझै पनि स्थानीय सरकारले प्रभावकारी कदम नचालेको भन्दै असन्तुष्टी प्रकट भइरहेको छ । 

जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाई स्थानीय सरकारले डेंगु नियन्त्रणको प्रयास गरिरहे पनि अझै नपुगेको बताए । प्रत्येक घरमा लामखुट्टेको लार्भा भएकोले त्यो नष्ट गर्न घरघरबाट नै प्रयास हुनुपर्ने उनले बताए । ‘नगरपालिकाले नगरेको होइन, तर इफोर्ट अलि पुगेन । प्रत्येक घरमा लार्भा छ, त्यसैले नगरलाई मात्र दोष दिएर हुदैन,’प्रसाईले भने,‘सबै मिलेर व्यापक जनपरिचालन गरेर लामखुट्टेको स्रोत नै नष्ट गर्नुपर्ने देखिन्छ ।’

प्रसाईका अनुसार गत साता जिल्ला स्वास्थ्यको टोलीसहित धरानको स्वास्थ्यकर्मीहरुको टोली वडा नं ११, १७, १८ र १५ मा केही दिन सर्च एण्ड डिष्ट्रोय अभियानमा हिडेको थियो । त्यसबेला नै घर घरमा लार्भा देखिएको उनले बताए । ‘व्यापक जनपरिचालन र घर घरले आफैले लार्भा नष्ट गरेर मात्र नियन्त्रणमा आउन सम्भव छ,’उनले भने,‘सातामा १ पटक पानीटंकी, गमला, पानी जमिने ठाउँ र बोतल चेक गर्ने, लार्भा देखियो भने पानी पोखाइहाल्ने गर्नुपर्छ ।’ धरानमा ग्यारेज तथा वर्कसपहरुमा भएको टायरमा पनि धेरे नै पानी जमेर बसेकोले पनि त्यसक्षेत्रमा उपमहानगरपालिकाले अभियान केन्द्रीत गर्नुपर्ने उनले बताए । 

'श्रमदान गए जस्तै सर्च एण्ड डिष्ट्रोय पनि गरौं '

shrama dan

वीपी प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा.इन्द्र लिम्बुले पनि सर्च एण्ड डिष्ट्रोयले मात्र डेंगुको महामारीलाई नियन्त्रण गर्न सकिने बताउँछन् । यसको लागि श्रमदानमा जनतालाई उतारे जस्तै धरानका सबै टिएलओहरुलाई सक्रिय बनाएर सर्च एण्ड डिष्टोयमा पनि वृहत जनपरिचालन गर्न उनले मेयर सामपाङलाई आग्रह गरे । ‘डेंगु नियन्त्रणबाहिर गएको देखिइसक्यो, त्यसैले एकदमै सक्रिय हुनु जरुरी छ, गम्भीरतापुर्वक सबैले लिनुपर्छ,’डा.लिम्बुले भने,‘श्रमदानमा जनता उतारे जस्तै नगरपालिकाले सर्च एण्ड डिष्ट्रोयमा पनि व्यापकरुपमा जनपरिचालित गर्नुपर्छ ।’

डा.लिम्बुले घरमा मच्छडदानी (झुल) अनिवार्य प्रयोग गर्न आग्रह गर्दै विरामीलाई भने हरदम झुल भित्र नै राख्न पनि आग्रह गरेका छन् । डेंगुका विरामीलाई स्वास्थ्य मच्छडले टोकेमा संक्रमित हुने र परिवारकै अन्य सदस्यलाई पनि संक्रमित बनाउने उच्च जोखिम भएकोले विरामीलाई झुलभित्रै राख्नुपर्ने उनले बताए । ‘अहिले एउटै घरका सबै परिवार पनि डेंगुका विरामी हुनुको कारण नै यही हो । एक जनालाई डेंगु छ भने मच्छडले उसलाई टेकेर फेरि अरुलाई पनि सार्छ,’डा.लिम्बुले भने,‘यो कम्युनिटी डिजिज हो, त्यसैले कम्युनिटीलाई नै परिचालन गर्नुपर्छ । एक सातासम्म सबैतिर नियमित सर्च एण्ड डिष्ट्रोय गर्यौं भने लामखुट्टेको प्रजनन् चक्र टुटाउन सकिन्छ, र नियन्त्रणमा आउनसक्छ ।’