धरान: सेउती पुल नजिकै विराटनगरका रोहित चौधरीको हत्या घटनामा संलग्न अर्का एक जना पक्राउ परेका छन् ।

धरान ८ घर भई हाल इटहरी ४ मा डेरा गरि बस्ने २९ बर्षीय सुजन तामाङ पक्राउ परेका हुन् । उनलाई आज नै साँझ साढे ५ बजे प्रहरीले विराटनगर ११ महेन्द्रचोकबाट पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । 

सोही घटनामा झापा भद्रपुर नगरपालिका १ घर भई हाल धरान ८ बस्दै आएका ३० बर्षीय प्रकाश लिम्बु र विराटनगर १५ का ४१ बर्षीय अजय कुमार शर्मालाई पनि प्रहरीले हिजो पक्राउ गरेको थियो । पक्राउ परेका शर्मा उक्त घटनामा प्रयोग भएको हतियार (पेस्तोल) बेचबिखनमा संलग्न थिए । उनी यसअघि लागुऔषध मुद्दामा ४ बर्ष ८ महिना कैद भुक्तान गरि ४ महिना अघि मात्र छुटेका थिए ।

साउन ५ गते इटहरी २० मा पर्ने सेउती पुल नजिक लुटेराहरुको समुहले लुटपाटको क्रममा विराटनगरका २८ बर्षीय रोहित चौधरीलाई गोली प्रहार गरेका थिए । उनको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको थियो । घटनामा संलग्न मुख्य नाइने लेटाङ नगरपालिका १ का ३५ बर्षीय दिपक तिमिल्सिना र धरानका अनसन तामाङलाई यसअघि नै पक्राउ गरि प्रहरीले सार्वजनिक गरिसकेको छ । 

लुटेराहरुको समुहले जन्मदिन मनाएर प्रेमिकासँग घर फर्कने क्रममा सेउती पुल नजिक लुटपाट गरेका थिए । रोहितले प्रतिकार गर्दा गोली प्रहार गरि हत्या गरेको थियो । लुटेराको यो समुहमा ६ जना रहेको पनि प्रहरीको भनाई छ । उनीहरुले धरानसँग जोडिएको चारकोशे जंगलमा श्रृंखलावद्ध लुटपाट गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ ।