धरान: धरान उपमहानगरपालिका वडा नं १५ ले गत आर्थिक बर्ष २०७९/०८० को समिक्षा तथा चालु आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ ।

वडा नं १५ स्थित शिक्षा सदन माविको सभाहलमा बार्षिक आर्थिक समिक्षा कार्यक्रम गर्दै गत वर्षको खर्च तथा प्रगती विवरणसहित चालु आर्थिक बर्षको बजेट सार्वजनिक गरेको हो । गत आर्थिक वर्षमा धरान उपमहानगरपालिकाको कुल बजेट १ अर्ब ७० करोड हुँदा वडा १५ ले २ करोड ९२ लाख प्राप्त गरेको वडाअध्यक्ष नरेश ईवारमले जानकारी गराए । त्यसमध्ये ३८ लाख रुपैया अघिल्लो आर्थिक बर्षको दायित्व पनि भएको उनले बताए । ‘हामीले प्राप्त गरेको बजेट मध्ये ०७८/०७९ सालको पनि दायित्व ३८ लाख रहेको हुदा उक्त दायित्व कटाएर २ करोड ५४ लाख मात्र प्राप्त गयौ,’ उनले भने,‘लक्षित वर्गका लागि १ करोड २ लाख र पूर्वधार निमार्णमा १ करोड ५२ लाख खर्च गरियो ।’

वडाअध्यक्ष इवारमका अनुसार गत बर्षको पुर्वाधार बजेटबाट ठुलो र सानो गरि ४८ वटा बाटो बनाएको र १० वटा सडक कालोपत्रे निमार्ण कार्य सम्पन्न भएको छ । साथै, उनले मापदण्ड पूरा गर्न नसकेको २ वटा बाटो भने बनाउन नसकिएको पनि जानकारी दिए । लक्षित वर्गको २ लाख ५० हजार बजेट यो बर्ष दायित्व बाँकी रहेको पनि उनले बताए । 

चालु आर्थिक वर्ष ०८०/८१ मा धरानको कुल बजेट १ अरब ७१ करोड हुँदा वडा नं १५ ले २ करोड ९२ लाख पाउनुपर्ने माग गरिएको तर १ करोड ९० लाख मात्रै प्राप्त गरेको पनि वडाअध्यक्ष इवामरले बताए । बजेट बनाउने क्रममा कार्यपालिका बैठकमा धेरै नै रस्साकस्सी भएको भन्दै उनले पहिला जस्तो हरेक टिएलओसँग योजना माग गर्ने समय नपुगेको पनि खुलाए । तथापी, वडाका राजनीतिक दलका प्रतिनिधि र वडाका जनप्रतिनिधीहरुबीच बजेटको विषयमा छलफल भएको पनि उनले बताए । ‘त्यसपछि टिएलओका अध्यक्षहरुसँग पनि बसेर घनीभुत छलफल गर्यौं,’उनले भने । 

चालु आर्थिक वर्षका लागि वडा १५ ले पाएको बजेट १ करोड ९० लाख मध्ये लक्षित र पूर्वधार निर्माण तर्फको ४१ लाख ५० हजार दायित्व भएको पनि वडाअध्यक्ष इवारमले जानकारी दिए । उक्त दायित्व कटाएर ७५ लाख रुपैया मात्र पूर्वधार विकासमा रहेको पनि उनले खुलाए । यसैगरि, लक्षित कार्यक्रम अन्र्तगत महिला, बालबालिका, जेष्ठनागरिक, अपाङ, दलित, सामाजिक भवन, विपत्तलगायत क्षेत्रका लागि ४४ लाख बजेट छुट्याइएको पनि उनले बताए । चालु खर्च तर्फ ३६ लाखको बजेट विनियोजन गरिएको पनि उनले बताए । 

कार्यपालिका सदस्य एवं सामाजिक विकास समितिकी संयोजक तथा वडा नं १५ की सदस्य सृजना नेपालले लक्षित कार्यक्रमतर्फ गरेको काम र उपलब्धीबारे जानकारी गराएकी थिइन् । जेष्ठ नागरिकलाई सम्मान र सामग्री वितरण, २२ वटा महिला समुहको क्षमता विकासका लागि ४ दिने तालिम दिएको, धरानमा महिलाका लागि पञ्चेबाजा बजाउने तालिम दिएर समुह स्थापना गरिएको, ब्युटिसियन आधारभुत र एण्डभान्स तालिम दिइएको, मेकानिक तालिम, ढाकाको झोला बनाउने तालिम, बाल सञ्जाललाई विभिन्न तालिमहरु लगायतका काम सम्पन्न गरेको बताईन् । कार्यक्रममा सहभागी वडाबासीहरुले धरानमा महामारीकोरुपमा फैलिएको डेंगु नियन्त्रणबारे वडाका जनप्रतिनिधिहरुलाई प्रश्न गरेका थिए । उनीहरुले नियमितरुपमा फगिङ गर्न र टोल विकास संस्थामा भएको मेशिनबाट धुँवा छर्न सहयोग गर्न पनि माग गरेका थिए ।

भिडियो: