धरान: हरेक बर्ष साउन २२ गते राष्ट्रिय जनमुक्ति पार्टीले लिम्बुवान बन्द गर्दै आएको छ । 

यो बर्ष पनि आज उक्त पार्टीले आह्वान गरेको बन्दमा पहिचान पक्षधर अन्य राजनीतिक दल तथा संघसंगठनहरुको पनि साथ छ । गोर्खाली सेनाले पटक पटक युद्ध गरेर पनि जित हासिल गर्न नसकेपछि विस १८३१ साउन २२ गते तत्कालिन लिम्बुवानसँग कपटपुर्ण सन्धी भएको थियो । उक्त सन्धी पछि नै सर्वभौम देश लिम्बुवान नेपालमा गाभिएको हो । 

limbuwan banda2

लिम्बुवानको स्वायत्तता खोसिएको साउन २२ गतेलाई राष्ट्रिय जनमुक्ती पार्टीले २०६६ सालदेखि कालो दिन घोषणा गरेर एक दिने बन्द आह्वान गर्दै आएको छ । यो बर्ष भने प्रदेश १ को नाम कोशी राखिएको विरोधमा पनि पहिचान पक्षधरहरुले आजको बन्दमा साथ दिएका छन् । बिहानैदेखि बन्दकर्ताहरुले धरानको भानुचोक, इटहरीको मुख्य चोक लगायत पुर्वका प्रमुख सहरहरुमा बन्द गराएका छन् । अत्यावश्यक सेवा एम्बुलेन्स, दुधको गाडीलगायत मात्र चलेका छन् । 

भित्रि सडकमा अटो रिक्सा, टेम्पो तथा मोटरसाइकल चलेका छन् भने विद्यालयहरु पनि बन्द छन् । लामो दुरीका यातायात चलेको छैन, जसले आम सर्वसाधारण जनतालाई सास्ती भएको छ । जनमुक्तिका युवा नेता विष्णु थाम्देनले साउन २२ गते सधै बन्द आहवान गर्दै आए पनि यो पटक प्रदेशको नाम पहिचानको आधारमा लिम्बुवान किरात हुनुपर्ने मागसहित बन्द गरिएको बताए ।