धरान: डेंगुको महामारी फैलिएको धरानमा सुनसरी उद्योग वाणिज्य संघले पनि निःशुल्क उपचार केन्द्र शुरु गर्ने भएको छ ।

संघले भोली (मंगलबार) बिहानदेखि उपचार आवश्यक पर्ने डेंगुका विरामीहरुलाई निःशुल्क उपचार सेवा शुरु गर्ने भएको हो । संघको वडा नं १ स्थित आफ्नै कार्यालयमा रहेको मिलेनियम हलमा उपचार सेवा शुरु गर्ने तयारी गरेको छ । प्रदेश स्वास्थ्य मन्त्रालयसँगको सहकार्य र धरान उपमहानगरपालिका, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, केएचडिसी र पिएसआरएनको सहयोगमा उपचार सेवा शुरु गर्न लागिएको संघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । हाल २० बेडमा उपचार सेवा शुरु हुनेछ, र आवश्यक भएमा बेड थपिने पनि उनले बताए । 

udhog2

उपचार केन्द्रमा वडा १, २, ३, ७, ९, १२ र १६ सँग सहकार्य गरिएको ती वडाका स्वास्थ्य स्वयमसेविकाहरु पनि परिचालन हुने संघका महासचिव महेन्द्र प्रधानले जानकारी दिए । ‘अरुलाई पनि भनेका छौं । जुनियर जेसिस, रोट््रयाक, लायन्स र स्काउटबाट पनि स्वयमसेवकहरु खटिनेछन्,’उनले भने,‘सिफ्ट र टिम बनाएर चौबिसै घण्टा खटिनेछन् ।’

उपचार केन्द्रमा परिचालन हुने स्वास्थ्यकर्मी तथा स्वयमसेवकहरुलाई सोमबार बेलुकी वीपी प्रतिष्ठानका शिक्षाध्यक्ष एवं वरिष्ठ चिकित्सक प्रा.डा.सञ्जिव शर्माले डेंगु रोगको उपचार कसरी गर्ने भन्नेबारे जानकारी गराएका थिए । अन्र्तक्रियात्मक उक्त कार्यक्रम पछि उपमेयर अइन्द्रबिक्रम बेघासहितको टोलीले उपचार केन्द्रको निरीक्षणसमेत गरेका थिए । 

udhog

उपचार केन्द्र सञ्चालनमा आउने मिलेनियम हलमा एसिको पनि व्यवस्था रहेको छ । संघका कार्यसमिति सदस्य तथा प्रशिक्षण विभाग प्रमुख विष्णु वरालका अनुसार उपचारसँगै निःशुल्क औषधी पनि विरामीलाई दिइनेछ । उच्च ज्वरोका विरामीहरुलाई डेंगु ज्वरो परीक्षण पनि गरि र चिकित्सकको सल्लाह अनुसार थप उपचारको व्यवस्था हुने उनले बताए । 

भिडियो: