धरान: धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले जात र धर्मको नामबाट वितण्डा मच्चाउन केही तत्वहरु लागिपरेको बताएका छन् ।

विश्व आदिबासी दिवसको अवसरमा आयोजित वृहत सभालाई सम्बोधन गर्दै उपमेयर बेघाले त्यस्ता तत्वहरुबाट सबै सचेत बन्नुपर्ने र खबरदारी गर्नुपर्ने बताए । उनले नेपाली समाज धार्मिक र जातीय लडाई नचाहने भएपनि धार्मिक सद्भाव, जातीय सद्भाव विथालेर यो व्यवस्था नै कोल्याप्स गर्न चाहने तत्वहरु सक्रिय भएको पनि बताए । 

‘जातको नामबाट, धर्मको नामबाट कही दुलो पर्छ कि कही वितण्डा मच्चाउने वातावतरण बन्छ कि भनेर केही तत्वहरु लागिरहेका छन् । हामी सचेत बन्नुपर्छ,’उनले भने,‘धार्मिक सद्भाव, जातिय सद्भाव र सहिष्णुता बोकेको सहरमा फेरि द्धन्द गरेर यो व्यवस्थालाई नै कोल्याप्स पार्न लाग्दैछन् । हामी मिलेर बसौं, मिलेर अघि बढ्यौं भने देश समृद्धिको दिशामा अघि बढ्छ ।’

उपमेयर बेघाले केही मान्छेहरुलाई यो संविधानले आदिबासी जनजातिहरुलाई अधिकार दिएका, काठमाण्डौंको अधिकार प्रदेश, नगर र वडामा आएको मन नपरेर यो संविधानको विरुद्धमा लागिपरेको पनि बताए । ‘ती मान्छेहरु यो व्यवस्था गलत भो, संघीयता गलत भो भनेर नारा लाउदैछन् । ती मान्छेहरु नेपाली जनताहरु अधिकार सम्पन्न भएको देख्न चाहदैनन्,’उनले भने ।

भिडियो: