धरान: डेंगु महामारीसँग जुधिरहेको धरान उपमहानगरपालिकालाई नेपाली कांग्रेस धरान उपमहानगर कमिटीले परीक्षण किट तथा औषधी सहयोग गरेको छ ।

उक्त औषधी सोमबार उपमहानगरपालिका परिसरमा स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतासहित कर्मचारीहरुलाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस धरानका सभापति श्याम पोख्रेल, पुर्वनगर प्रमुख तिलक राई, जिल्ला सचिव माधव घिसिङ, कांग्रेस सुनसरी क्षेत्र नं १ सभापति सुजेन्द्र गोले तामाङ, पर्वत राई, राजेन्द्र राईलगायत नेताहरुको उपस्थिति रहेको थियो ।

महामारीको बेला राजनीति भन्दा माथि उठेर जनताको सेवामा लाग्नुपर्छ भनेर वडाहरुमा कार्यकर्ताहरु परिचालन गरेको सभापति पोख्रेलले बताए । कांग्रेसले वडाहरुमा चलाएको अभियानमा सिटामोल, जिवन जल लगायत औषधीहरु पनि वितरण गरिरहेको उनले बताए । कांग्रेस प्रदेश महामन्त्री उमेश थापा, निवर्तमान मेयर तिलक राई, महासमिति सदस्य सुवास राई र पुर्वनगर सभापति किसोर राईको पहलमा औषधी उपलब्ध भएको पनि उनले जानकारी दिए । 

congress1

पार्टीले नै वितरण गर्नुभन्दा एकद्धार प्रणाली अन्तर्गत धरान उपमहानगरपालिकाबाट नै वितरण गर्नु उचित हुने ठानेर स्वास्थ्य महाशाखालाई नै वितरण गरिएको पनि नगर सभापति पोख्रेलले बताए । कांग्रेसले सिटामोल २९५० पत्ता, जीवनजल १७ सय थान, डेंगु टेष्ट किट २ सय थानलगायत हस्तान्तरण गरेको हो । स्वास्थ्य महाशाखा प्रमुख मेहताले कतिपय औषधीहरु अभाव भइरहेको बेला कांग्रेसको सहयोगले धेरै राहत पुग्ने बताए । कांग्रेसका नेताहरुले डेंगु नियन्त्रण र उपचारमा कसरी सहयोग गर्ने भनेर निरन्तर समन्वय गरिरहेको भन्दै मेहताले यो सहयोगले राजनीतिक दलहरु जनताको पक्षमा छ भन्ने पुष्टि भएको बताए । 

राजनीतिक दलहरुको टोलीले केही दिनअघि प्रदेश सरकारसँग माग गरेको औषधी तथा सामग्रीहरु पनि छिट्टै प्राप्त हुने जानकारी आएको पनि मेहताले बताए । कांग्रेसबाट प्राप्त भएको औषधी तथा टेष्ट किटहरु पुरानो अस्पताल र विभिन्न वडाहरुले सञ्चालन गरेको उपचार शिविरमा पठाउने पनि उनले बताए । 

भिडियो: