धरान: जीवन निर्वाह भत्ता वृद्धिलगायत मागहरुमा सहमति भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न विद्यार्थीहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् ।

मागहरुबारे मंगलबार लिखित सहमति भएपछि इन्टर्न विद्यार्थीहरुले आन्दोनलको कार्यक्रम फिर्ता लिदै आआफ्नो कार्यक्षेत्रमा फर्किएका छन् । प्रतिष्ठानले यसअघि गठित समितिको सिफारिश वमोजिम नै इन्टर्न विद्यार्थीहरुलाई माग वमोजिम नै निर्वाह भत्ता गत साउन महिनाको २३ हजार भदौ ३ गते नै उपलब्ध गराइसकेको छ । यसअघि भने प्रतिष्ठानका इन्टर्न विद्यार्थीहरुले मासिकरुपमा जीवन निर्वाह भत्ता १८ हजार ५ सय रुपेया पाउदै आएका थिए ।

सहमति पत्रमा पनि उपकलुपतिको निर्णयअनुसार आर्थिक बर्ष २०८०/०८१ को साउन महिनादेखि लागु हुने गरि इन्टर्न विद्यार्थीहरुको निर्वाह भत्ता मासिक २३ हजार भदौ ३ गतेदेखि नै लागु भइसकेको उल्लेख छ । यस्तै, सिफारिश वमोजिम इन्टर्नसीप शुरु भएको पहिलो पाँच महिनाको बाँकी भुक्तानीको सम्बन्धमा आगामी कार्यकारिणी समितिको बैठकमा सकरात्मक छलफल गर्ने पनि सहमति भएको छ भने इन्टर्न विद्यार्थीहरुलाई आन्दोलन गरेकै कारण पुर्वाग्रही व्यवहार नगरिने र आन्दोलनको समय इन्टर्नहरुको हाजिरीमा पनि प्रतिष्ठानले कुनै वाधा उत्पन्न नगराउने सहमति भएको छ । 

यसैगरि, अध्ययन समितिको सिफारिश वमोजिम नै आगामी दिनहरुमा चिकित्सक शिक्षक र कर्मचारीहरुको तलब वृद्धि हुँदा इन्टर्न विद्यार्थीहरुको पनि भत्ता वृद्धि गर्नेबारे पनि आगामी कार्यकारिणी बैठकमा छलफल गर्ने सहमति पत्रमा उल्लेख छ । प्रतिष्ठानमा हाल १४२ जना इन्टर्न विद्यार्थीहरु छन् । समितिको सिफारिश कार्यान्वयन नभएको भन्दै इन्टर्न विद्यार्थीहरुले आइतबारदेखि उपकुलपति कार्यालय घेराउ तथा धर्ना दिदै आएका थिए । 

bpkihs entern agreement copy