धरान: एयरपोर्ट बनाउन भनेर करिब दुई दशकअघि स्थानीय जग्गाधनीसँग सम्झौता गरेर खरिद गरेको जग्गा किनबेच शुरु भएपछि धरान उपमहानगरपालिकाले रोक्का गर्न मालपोतलाई पत्राचार गरेको छ ।

धरान १७ डाँडापोपाका स्थानीय पुर्वजग्गाधनीहरुले सम्झौता वमोजिम एयरपोर्टको फिर्ता हुनुपर्ने मागबारे आयोजित छलफलमा जग्गा किनबेच हुन थालेको जानकारी दिएपछि उपमहानगरपालिकाले रोक्का राख्न पत्राचार गरेको हो । एयरपोर्टका पुर्वजग्गाधनी तथा सरोकारवालाहरुसँग पाँच दिनअघि मेयर साम्पाङले पहिलो छलफल गरेका थिए । उक्त छलफलमा नै पुर्वजग्गाधनीहरुले एयरपोर्ट बनाउने भनेपछि सस्तो मुल्यमा सम्झौता गरेर यति इन्कर्पोरेट प्रालिलाई बिक्री गरेको जग्गा किनबेच भइरहेको जानकारी दिएका थिए । 

सोही बैठकमा यतिलाई भनेर बेचेको जग्गामध्ये १३ कट्ठा जग्गा कुन्दन शम्सेर जबराको नाममा राखेको पछि मात्र थाह भएको र अहिले त्यही जग्गा धमाधम बिक्री भइरहेको पुर्वजग्गाधनीहरुले बताएका थिए । उनीहरुले उक्त जग्गा रोक्का गर्न मेयर साम्पाङलाई आग्रह गर्दै एयरपोर्ट नबन्ने भए लिखित सम्झौता वमोजिम जग्गा फिर्ता हुनुपर्ने माग गरेका थिए ।  

airport discuss

मेयर साम्पाङले एयरपोर्टसँग सम्बन्धित पुर्वजनप्रतिनिधिहरु र यतिको प्रतिनिधिहरुसमेतलाई बोलाएर आज (सोमबार) पनि छलफल राखेका थिए । उक्त छलफलमा पुर्वमेयर कुमारबहादुर कार्की र पुर्वजग्गाधनीहरु उपस्थित भएपनि पुर्वमेयर मनोजकुमार मेन्याङ्बो, यतिका प्रतिनिधि अशोक अग्रवाल उपस्थित नभएपछि छलफल हुन सकेन । यद्यपी, मेयर साम्पाङले पुर्वजग्गाधनीहरुको माग वमोजिम एयरपोर्टको जग्गा रोक्का गर्न मालपोत कार्यालयलाई पत्राचार गरिसकेको जानकारी दिए । उनले एयरपोर्ट नबन्ने भए सम्झौता वमोजिम खरिद गरेकै मुल्यमा यतिले स्थानीय जग्गाधनीलाई जग्गा फिर्ता गर्नुपर्ने पनि बताए । 

विगतमा एयरपोर्ट निर्माण आयोजना प्रमुखको जिम्मेवारीसमेत पाएका भक्तिराज शर्माले पहिलो बैठकमा पुर्वजग्गाधनीहरुबाट जग्गा किनबेच भएको र रोक्का गर्नुपर्ने माग भएवमोजिम मेयरले मालपोतमा जग्गा रोक्का गर्न पत्राचार गरिसकेको जानकारी दिए । 

भिडियो:

भिडियो: