धरान: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले स्वदेशी र स्वजातीय सँस्कृति र सीपलाई व्यवसायीकरण गरेर आयआर्जनको माध्यम बनाउनुपर्ने बताएका छन् ।

नेवाः देय् दबूको प्रदेश समितिले धरान १० स्थित सैनिक भवनमा आयोजित क्वाःती फेस्टिवललाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् । नेवारी बिशेष परिकार क्वाःतीलाई व्यवसायीकरण गर्ने उद्देश्यले आयोजित फेस्टिवलको प्रशंसा गर्दै मन्त्री राईले स्वदेशी, स्वजातीय परिकार बनाउने सीपलाई आयमुलक व्यवसायीकरण, औद्योगिकरण गर्नुपर्ने बताए । ‘नेवारी भोजनको अनेकौं परिकार छ । यही क्वाःतीलाई होटलको मेनुमा सामेल गराउने, बनाउन सिकाउने गरि जादैछौं भन्नुभयो, यो प्रशंसनीय छ,’मन्त्री राईले भने,‘आफ्नो स्वदेशी, स्वजातीय सँस्कृति सीपलाई व्यवसायीकरण गर्ने, आयमुलक बनाउनेतर्फ सोच्नुपर्छ । त्यसको लागि संसारभर बजार पाउने सम्भावना छ ।’

मन्त्री राईले नेपालमा उन्नत खानेकुराको परिकारहरु भएकोले तिनीहरुको संरक्षण विकाससँगै व्यापारिकरण गरेर राष्ट्रिय उत्पादनकोरुपमा अघि बढाएर आय आर्जन गर्नसकिने बताए । ‘हाम्रो पहिचान र सँस्कृतिलाई जोगाउने मात्र होइन, विकसित गर्ने मात्र होइन, आयमुलक अवस्थामा पुर्याउनुपर्छ । व्यवसायिक र औद्योगिक, व्यापारिक हिसाबले प्रयोग गर्नुपर्छ,’उनले भने । 

मन्त्री राईले सँस्कृति नै मानव समुहहरुको पहिचान भएको उल्लेख गर्दै पहिचान भनेको हाउगुजी नभएको बताए । उनले भने,‘पहिचान हाउगुजी केही पनि होइन । खाना हो, नाना हो, छाना हो, गाना हो । यिनै चिज हो पाहिचन । हामी के खान्छौं, के लगाउछौं, कस्तो घरमा बस्छौं । गाउने बजाउने कला कस्तो छ, यिनै चिजहरु त हुन् पहिचान, हाम्रो सँस्कृतिको अंगहरु ।’

नेपाली पहिचान, नेपाली सँस्कृति वृहत र फराकिलो भएपनि विश्वभर स्थापित गर्ने, विस्तार गर्ने, फैलाउने सवालमा भने प्रयत्न कमजोर भएको मन्त्री राईले बताए । कार्यक्रमलाई पुर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा, धरानका उपमेयर अइन्द्रबिक्रम बेघा र भाषाविद् टंक न्यौपानेले पनि सम्बोधन गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई क्वाःती चखाइएको थियो भने सम्मान र साँस्कृतिक कार्यक्रम पनि भएको थियो । 

kwati

kwati5

kwati2

kwati1

kwati4 copy