विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी नामकरण विरुद्ध जवजस्ती पहिचानको आन्दोलन उठाइएको बताएका छन् । 

प्रगतिशल तथा पेशागत कानून व्यवसायी संघ (पीपीएलए) को प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले स्थानीय स्तरबाट आन्दोलन उठ्न नसकेपछि अहिले विदेशीहरुको सहयोगमा काठमाडौ देखिका मानिसहरु ल्याउन थालिएको आरोप पनि लगाए । 

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा पनि भारतको मणिपुरमा जस्तै जातीय र सामुदायिक दङ्गा भड्काउन केही शक्तिले खोजिरहेको दाबी गरे । कोशी नामकरणको विषयमा पुराना सबै राजनीतिक दलहरुले आ आफ्नो धारण सार्वजनिक गरेपनि रास्वपको धारणा प्रस्ट नआएकोमा आश्चर्य पनि व्यक्त गरे । 

मुख्यमन्त्री कार्कीले ‘कोशी’ नामकरण ठिक भएकोले एमालेका कार्यकर्ताहरु डराउनु नपर्ने पनि बताए । नामकरणको समर्थनमा सिंगो एमाले जुरुक्क उठ्नुपर्ने पनि बताए । तर उनले एमाले त्यसरी उठ्न नसकेको भन्दै असन्तुष्टी पनि जनाए । ‘कोशी नामकरणको विषयमा सिङ्गो एमाले जसरी जुरुक्क उठ्नु पथ्र्यो तर त्यसरी उठेन, बरु एमालेका कतिपय कार्यकर्ता नामकरणको विरोधमा लेख्ने र बोल्ने काममा सहभागी भएको पाइयो,’ मुख्यमन्त्री कार्कीले भने,‘तत्कालिन प्रदेश नं १ को कोशी नामकरण ठिक भएको छ, यसबाट डराउनुपर्ने अवस्था छैन ।’

एमालेका अगाडी धेरै समस्या नरहेको प्रस्ट पार्दै एमाले अरुका कारणले नभएर आफ्नै खुट्टामा अल्झिएर लड्ने गरेको उनको भनाइ थियो । मुलुकमा एमाले हार्ने सिट सङ्ख्या थोरै मात्रमा रहेको दाबी गर्दै धेरै ठाउँमा एमालेले नै एमालेलाई हराएको कार्कीले बताए । ‘त्यसैले अब एक पटक हरेक मोर्चामा एमाले जिताउ अभियान चलाउन हो भने मात्र पार्टीले चलाएको मिसन ८४ सफल हुन्छ,’मुख्यमन्त्री कार्कीले भने ।