धरान: धरानको शान्ति सुरक्षाको बिषयमा सोमबार कार्यपालिका बैठकमा छलफल भइरहदा वडा नं १९ का अध्यक्ष पुर्ण लिम्बुले मेयर हर्क साम्पाङलाई प्रश्न सोध्दा जनता समातिनु पर्ने भन्दै कटाक्ष गरे । 

वडाअध्यक्ष लिम्बुको कटाक्ष यतिमै सिमित भएन, उनले न्यायिक समिति पनि नगरमा भएकोले एउटा हिरासत कक्ष पनि बनाउनुपर्ने र यसको लागि बजेट विनियोजन गर्नुपर्ने पनि सुझाव दिए । ‘नगर प्रहरी पनि छ, गल्ती गर्यो कि नगर प्रहरी लगाएर समातेर हिरासतमा राख्ने । न्यायिक समिति छ, त्यहाँ इजलाशमा पेश गर्ने गर्नुपर्छ,’उनले कटाक्ष गर्दै भने,‘एउटा हिरासत भवन बनाउ । उहाँले आदेश दिनुहुन्छ, पक्राउ गरेर हिरासतमा राख्ने र इजलाशमा पेश गर्ने । धरानमा नाटक भइरहेको छ, फरक विचार राख्नुबित्तिकै पक्राउ खानुपर्ने, प्रहरीको हिरासतमा बस्नुपर्ने । बरु हिरासत यही बनाउ, यसको लागि बजेट छुट्याउ ।’

उनले हिरासत बनाउन कानुनले नदिने भन्दै नगर प्रहरीको अधिकार पनि बाख्रा पक्रने मात्र भएको बताए । ‘मान्छे पक्रन पाउदैन, बाख्रा पक्रनु भन्ने अधिकार मात्र छ । बाख्रा चै १, २ दिन राख्छौं हैन ?’ नगर प्रहरी प्रमुख विष्णु कोइरालालाई सोध्दै मेयर साम्पाङले भने,‘वडा १५ मा सर्च एण्ड डिष्ट्रोय गरिरहदा मलाई २ घण्टा फ्लो गरेर समापन गर्ने बेला आक्रमण हुन खोजेपछि प्रहरी बोलाएर जिम्मा दिएको हो । वडा ४ को अध्यक्षले नै सुरक्षा थ्रेट छ भनेकोले पनि सोच्नुपर्ने भयो ।’

मेयरले नगर प्रहरीको काम बाख्रा पक्रनु मात्र भएको बताएपछि कार्यपालिका सदस्य सृर्जना नेपालले प्रश्न गरिन्, ‘हामीले नगर प्रहरी बाख्रा हेर्ने भनेर निर्णय गरेर राखेका हौं ?’ उनले सडक मानव विरामी भएर अस्पतालमा उपचार गर्न राख्दा कुरुवा बस्न एउटा नगर प्रहरी मेयरले दिन नसकेको भन्दै थप प्रश्न गरिन्,‘मानवको सेवामा नगर प्रहरी उपस्थित गर्न नसक्ने तर बाख्रा समात्न नगरको कर्मचारी खर्च गर्ने ? कतिसम्म जायज छ ?’

उनले सडकमा पार्किङको समस्या, व्यापारीको पीडालाई वेवास्ता गरेर नगर प्रहरी जंगलमा मात्र खटाएकोमा आलोचना गरिन् । ‘बाटोमा हेर्नुस्, व्यापारीको हालत के छ । रोइरहेको छ । पार्किङ समस्या त्यति नै छ । व्यापारीले बेच्ने ठाउँ पाएको छैन,’उनले भनिन्,‘बजार व्यवस्थापन गर्नुपर्ने नगर प्रहरी, जंगल व्यवस्थापनमा लाग्नुभएको छ । जनताको पीर नभएर जंगलको किरा, फट्यांग्राको पीर लिएर हुन्छ ?’ 

उनको प्रश्नको जवाफ दिदै मेयर साम्पाङले अलपत्र सडक मानवलाई उपचार गर्दा कुरुवा बस्न कर्मचारी राख्नुपर्ने बताए । उनले नगर प्रहरीलाई जंगलमा मात्र खटाएको आरोपमा खानेपानीको मुहान जलाधार संरक्षण गर्नुपर्ने दायित्व भएकोले खटाउनुपरेको पनि बताए । धरानको प्रमुख समस्या खानेपानी भएकोले मुहान क्षेत्र संरक्षणलाई प्राथमिकता दिएको मेयर साम्पाङले बताए ।

वडा नं १६ का अध्यक्ष मुरारी भट्टराईले खानेपानी आपूति, वितरण र मुहान संरक्षण गर्ने प्रमुख जिम्मेवारी खानेपानी बोर्डको भएकोले नगरको कर्मचारी खर्च गर्न नहुने धारणा राखे । उनले खानेपानी मुहान संरक्षणमा खानेपानी बोर्डले नै आवश्यक निर्णय गरेर जानुपर्ने र नगर प्रहरीलाई बजार व्यवस्थापनलगायत जिम्मेवारीमा फर्काउनुपनेृ धारणा राखे । उनको धारणामा वडा नं १५ का अध्यक्षले समर्थन जनाउदै खानेपानी बोर्डमा काजमा कार्यरत नगरका अन्य कर्मचारीलाई पनि फिर्ता गर्नुपर्ने बताए । 

भिडियो: