धरान: नेकपा (एमाले) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा मजदुर क्लष्टरबाट भीमज्वाला राई सर्वाधिक मतकासाथ विजयी भएका छन् । 

असोज १५ गते राति १२ बजे प्रथक प्रदेश अधिवेशन निर्वाचन समितिले मजदुर क्लष्टरबाट विजयी उमेद्वारहरुको नाम घोषणा गर्दा भीमज्वाला राई लोकप्रिय मत ल्याउँदै विजयी भएका हुन् । राईसंगै मजदुरबाट किशोर धमला, अम्बिर लिङ्देन र महिलामा डोमा राई र निर्मला परियार गरि पाँचजना विजयी भएका छन् । राईले ६१४ मत ल्याएका छन् । उक्त मत मजदुरबाट विजयी हुनेहरुमा सबैभन्दा बढी हो भने पदाधिकारीको उपसचिवमा विजयी जलवर्षा राजवंशीले पाएको मत पछि दोस्रो हो । राजवंशीले ६२८ मत ल्याएर विजयी बनेकी छिन् । 

तीन दशकदेखि मजदुर आन्दोलनमा निरन्तर क्रियाशिल धरानका नेता राई देशकै प्रभावशाली मजदुर नेताका रुपमा स्थापित भइरहेका छन् । आमसञ्चार तथा पत्रकारितामा एमए अध्ययन गरेका उनी बसको कण्डक्टरका रुपमा मजदुरी गर्दै मजदुर आन्दोलनमा होमिएका थिए । उनी हाल नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा जिफन्ट राष्ट्रिय कमिटी सदस्य छन् । एमाले प्रदेश कमिटी अध्यक्षमा घनश्याम खतिवडा निवार्चित भएका छन् भने उपाध्यक्ष टिकाराम चेम्जोङ सर्वसम्मत, सचिवमा राजकुमार भण्डारी, उप सचिवहरुका जलवर्षा राजवंशी र देवान राई निर्वाचित भएका छन् ।