धरान: सामाजिक, धार्मिक र राजनैतिक कार्यक्रमहरु भइरहने गीता मन्दिरको हलमा आज (शनिबार) भने बेग्लै महौल थियो । 

प्रदेशका विभिन्न जिल्लाबाट नेपालकै वरिष्ठ कलाकाहरु क्यानभास बोकेर आएका थिए भने धरानका उदयीमान युवा कलाकारहरु र चित्रकला सिक्ने स्कुले बालबालिकाहरु पनि रंग पोतेर आकृति उतार्दै थिए । आफ्ना बच्चाहरु लिएर आएका अभिभावकहरु पनि चित्र बनाउदै गरेका भेटिए । 

धरान १ स्थित पौभा आर्ट ग्यालरीले आयोजना गरेको ग्राण्ड आर्ट मेलामा इटहरीका बिक्रम श्री, धनकुटाका दिल्लीकृष्ण आले, धरानका प्रनोद दत्त, महेन्द्र राईदेखि काकडभिट्टाबाट छितेन शेर्पालगायत वरिष्ठ कलाकारहरुको सहभागीताले आर्ट मेलाको गरिमा बढाएको थियो भने धीरज राई, विज्ञान राई जस्ता प्रतिभाशाली युवा कलाकारहरुसँगै अढाई सय बढी बालबालिका र अभिभावकहरुको सहभागिताले उत्साह थपेको थियो । 

कार्यक्रमबाट उत्साहित हुदै वरिष्ठ कलाकार बिक्रम श्रीले भने,‘म २ घण्टाको लागि आएको थिएँ, तर दिन नै यही बित्यो । यतिको भव्य ठुलो कार्यक्रम अहिलेसम्म भएको मैले देखेको थिइनँ । धेरै राम्रो कार्यक्रम भयो ।’

भिडियो:

आयोजक पौभा आर्टका सञ्चालक एलन शाक्यका अनुसार २४७ जना विद्यार्थीहरु सहभागी भएका थिए भने ३२ जना अतिथि कलाकारहरु पनि सहभागी थिए । कोशी प्रदेशबाहेक काठमाण्डौं, ललितपुर, भक्तपुरबाट पनि अतिथि कलाकारहरुको सहभागिता रहेको थियो ।

‘४ बर्षको नानीदेखि अभिभावक र वरिष्ठ कलाकारहरु पनि हुनुहुन्छ । विद्यार्थी र अभिभावकहरुबीच प्रतियोगिता पनि आयोजना गरेका छौं,’ उनले भने, ‘कार्यक्रमको उद्देश्य कलालाई निखार्ने हो । चित्रकला, मुर्तिकलालाई पनि समेटेका छौं । नानीहरुलाई अवसर पनि हो, हेरेर पनि सिक्न सक्छन् । उनीहरुलाई प्रेरणा पनि मिल्छ ।’ 

धरानका वरिष्ठ कलाकार महेन्द्र राईले पनि बालबालिकाहरुलाई अग्रज कलाकारहरुको काम अवलोकन गर्ने अवसर मिलेको बताए । ‘धरानमा यस्तो कार्यक्रम नभएको धेरै भइसक्यो । प्रज्ञा प्रतिष्ठान गठन भएको छैन, निजी क्षेत्रले यतिको कार्यक्रम गर्नु धेरै राम्रो हो,’ उनले भने,‘कलाकारहरु एकठाउँमा काम गर्ने अवसर पायौं ।’

paubha art2

paubha art3

paubha art4

paubha art5

paubha art6

paubha art7

paubha art8

paubha art9

paubha art10