धरान: मासु व्यवसायीहरुले आन्दोलनको स्वरुप परिमार्जन गर्दै भोली (बुधबार) देखि धरान भित्र बंगुरको मासु पसल मात्र बन्द गर्ने भएका छन् ।

धरान मासु व्यवसायी संघको नेतृत्वमा आज मंगलबार जर्बजस्ती मासु पसलहरु बन्द गराएको गुनासो आएकोले त्यसो नगर्न र गराए कानुन वमोजिम हुने उपमहानगरपालिकाले चेतावनी दिएपछि संघले आन्दोलनको स्वरुप परिमार्जन गरेको हो । बंगुरको मासुको मुल्यको विवादमा अन्य मासु पसल पनि बन्द गराएको भन्दै खसी, कुखुरा र माछाका व्यवसायीहरु पनि असन्तुष्ट थिए । मंगलबार पसल बन्द गराउदै हिडेका संघका पदाधिकारीहरुसँग अन्य व्यवसायीहरुको झगडा पनि गरेको थियो । उपमहानगरपालिकाले संघलाई पत्राचार गर्दै जर्बजस्ती बन्द नगराउन, गराए कारबाही गर्ने चेतावनी दिएको थियो । 

masu lafada1

संघले मंगलबार साँझ आकस्मिक पत्रकार सम्मेलन गर्दै भोली बुधबारदेखि बंगुरको मासु पसल मात्र बन्द गरिने र अन्य मासु, माछा पसलहरु खोल्ने निर्णय भएको जानकारी दिएको छ । संघका अध्यक्ष मदन तामाङले एक दिन सबै मासु पसलहरुले बन्द गरेर आन्दोलनमा समथ दिएको र भोली बुधबारदेखि भने बंगुरको मासु पसल मात्र बन्द गर्ने निर्णय भएको बताए । उनले भने,‘बंगुर व्यवसायीको बिषय हो, एक दिन सबै व्यवसायीलाई आग्रह गराएर बन्द गरायौं । भोलीदेखि बंगुरबाहेक अन्य मासु पसलहरु खुला गराउछौं । बंगुरको बिषयमा पनि नगर सरकारसँग वार्ता गरेर समाधान गछौं ।’

masu2

बंगुरको मासु व्यसायीहरुले प्रतिकिलो ४ सय रुपैयाको मासुको मुल्य एक्कासी वृद्धि गरेर ५ सय पुर्याएको थियो । गत साउन १ गतेदेखि लागु हुने गरि ३६० प्रतिकिलो मासुको भाउ वृद्धि गरेर ४ सय पुर्याइएको थियो । करिब ३ महिना अवधिमा नै दोस्रो पटक समन्वय नगरि व्यवसायीहरुले मुल्य वृद्धि गरेपछि धरान उपमहानगरपालिका मातहतको बजार अनुगमन समितिले छलफलमा संघलाई बोलाएको थियो । उक्त बैठकमा मुल्य समायोजन गर्दै बंगुरको मासु प्रतिकिलो ४६० कायम गर्ने निर्णय भएपनि असन्तुष्टी जनाउदै मासु व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । 

भिडियो:

भिडियो: