धरान:दशैंको मुखमा धरानका मासु व्यवसायीहरुले बंगुरको मासुको भाउ बढाएका छन् ।

मासु व्यवसायीहरुले ४ सय रुपैया प्रतिकिलो बंगुरको मासुको भाउ बृद्धि गरेर ५ सय रुपैया पुर्याएका छन् । तीन महिनाको अन्तरालमा नै मासु व्यवसायीहरुले दोस्रो पटक भाउ वृद्धि गरेका हुन् । गत साउनदेखि लागु हुने गरि ३६० रुपैया प्रतिकिलो मासुको भाउ बढाएर ४ सय रुपैया बनाइएको थियो । त्यसबेला पनि स्थानीय सरकारसँग समन्वय नगरि व्यवसायीहरुले मासुको भाउ वृद्धि गरेर ४२० बनाएका थिए । पछि उपमहानगरपालिकाले छलफलमा बोलाएर ४ सय रुपैया कायम गरिएको थियो । 

अहिले पनि चाडबाडको मुखमा मासु व्यवसायीहरुले आफुखुशी बंगुरको मासुको भाउ बढाएका हुन् । सामाजिक सञ्जाल र फोन मार्फत मासुको भाउ वृद्धि भएको भन्दै गुनासोहरु आएपछि आइतबार उपमेयर अइन्द्रबिक्रम बेघाको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले मासु व्यवसायीहरुलाई बोलाएर छलफल राखेको थियो । उक्त छलफलमा मेयर हर्क साम्पाङले स्थानीय सरकारलाई लिखितरुपमा मुल्य बढाउनुपर्ने कारणसहित जानकारी आएपछि मात्र भाउ वृद्धिबारे छलफल हुने बताएका थिए । उनले आम उपभोक्ताको हितमा सोचेर निर्णय लिनुपर्ने भन्दै लिखित कारणसहित व्यवसायी संघ नआएसम्म पुरानै मुल्य कायम गर्न निर्देशन पनि दिएका थिए ।

bangur1

उक्त छलफलले अबदेखि मासुको मुल्य निर्धारण गर्नुपरेमा व्यवसायी संस्थामार्फत नगरपालिकामा जानकारी गराएर नगरको निर्णय अनुसार मुल्य निर्धारण गर्ने निर्णय गरेको थियो । मुल्य सुची अनिवार्य राख्नु पर्ने र नगरपालिकालाई पनि सबै मासु व्यवसायीले उपलब्ध गराउनुपर्ने निर्णय भएको बजार अनुगमन अधिकृत वेद सापकोटाले जानकारी दिए । साथै, मुल्य वृद्धि गरिएकोमा हाललाई फिर्ता लिएर बंगुरको मासु ४ सय नै कायम गर्नुपर्ने र मुल्य बढाउनुपर्ने कारण नगरमा पेश गरेपछि छलफल गरेर अर्को बैठकबाट मुल्य निर्धारण गर्ने निर्णय भएको पनि उनले बताए । 

दोस्रो निर्णयमा भने मासु व्यवसायीहरुले असन्तुष्टी जनाएका थिए । उनीहरुले वंगुर पाउनै छोडेको र धरानमा ४ सय मात्र मुल्य कायम हुदा इटहरीमा ५ सय भएकोले वंगुर पालन गर्ने किसानहरुले इटहरीका व्यापारीलाई बेच्ने गरेको भन्दै मुल्य घटाउन नसकिने बताएका थिए । उनीहरुले मासु व्यवसायीहरुले पसल नै बन्द गर्नुपर्ने स्थिति बनेको भन्दै भाउ घटाउन नसकिने अडान लिएका थिए । उपमेयर बेघाले मुल्यवृद्धि गर्नुपर्ने कारणसहित लिखित जानकारी तत्काल दिन आग्रह गर्दै भोली (सोमबार) नै बैठक बसेर निर्धारण गर्ने बताएका थिए । उनले आधिकारिक निर्णय ४ सय रुपैया प्रतिकिलो भएकोले निर्णय विना ५ सय रुपैया मुल्य लिनु गैरकानुनी हुने बताए । बैठकले वंगुरको मासुको मुल्य निर्धारण गर्न भोली सोमबार बिहान ११ बजे पुनः बंगुर मासु व्यवसायीहरुसँग बैठक बस्ने निर्णय भएको उपमेयर बेघाले बताए । 

भिडियो:

भिडियो: