धरान: कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि मुख्यमन्त्रीमा माओवादीका सांसद इन्द्र आङ्बो र कांग्रेसका सांसद केदार कार्कीले दाबी पेश गरेका छन् ।

केन्द्रीय सत्ता गठबन्धनका दलहरु कांग्रेस, माओवादी, जसपा, नेकपा एसलगायत विभिन्न ८ राजनीतिक दलले माओवादीका संसदीय दलका नेता आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै बहुमत पुग्ने दाबीसहित आङ्बो मुख्यमन्त्री दाबी पेश गरेका थिए । प्रदेशसभामा एमालेको उपसभामुखसहित ४०, कांग्रेसको २९, माओवादी केन्द्रका १३, राप्रपाको ६, नेकपा एसका ४,  र जसपाको १ जना सांसद छन् । गठबन्धनका दलहरु कांग्रेस, माओवादी, नेकपा एस र जसपाको ४७ जना सांसद पुग्छन् । यो संख्या सरकार गठनको लागि बहुमत हो । 

सत्ता गठबन्धनको समर्थनमा आङ्बोले मुख्यमन्त्रीमा दाबी पेश गरेपनि कांग्रेसकै सांसद कार्कीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । उनलाई नेकपा एमालेको सांसदहरुको समर्थन छ । कार्की कांग्रेस नेता शेखर कोइराला खेमाका हुन् । कोशी प्रदेशमा एमालेका ३९ जना सांसद छन् भने कार्कीले कांग्रेसका ८ जना सांसदहरुको समर्थन जुटाएका छन् । कांग्रेसका ८ जना सांसदले कार्कीलाई समर्थन दिएपछि गठबन्धनबाट दाबी पेश गरेका आङ्बोको मुख्यमन्त्री पदको यात्रा अनिश्चित बनेको छ ।   

संविधानको धारा १६८ (३) वमोजिम मुख्यमन्त्री भएका एमालेका हिक्मत कार्कीले विश्वासको मत लिनुअघि राजिनामा दिएपछि कोशी प्रदेशमा सरकार गठनको अन्तिम विकल्प धारा १६८ (५) मात्र बाँकी छ । संविधानको यो धारामा प्रदेशसभाका कुनै सदस्यले विश्वासको मत प्राप्त गर्नसक्ने अवस्था भएमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ । संविधानको धारा १६८(५) मा सांसदहरुलाई दलको ह्विप नलाग्ने र यो उपधारा अनुसार कसैलाई समर्थन गर्दा कारबाही भोग्नु नपर्ने भएकोले पनि कांग्रेसका ८ सांसदहरुले पार्टी निर्णय विपरीत कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेका हुन् ।