धरान: बराहक्षेत्र नगरपालिका वडा नं १ खार खोला (मौरी घार)का स्थानीय जग्गाधनीले कोशी खानेपानी प्रोजेक्टको लागि आफ्नो जग्गा सर्वे गर्न अनुमति दिएका छन् ।

मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) र वडा १३ का अध्यक्ष नेत्र काफ्लेसहितको टोलीसँगको छलफल पश्चात स्थानीय जग्गाधनीहरुले आफ्नो जग्गामा सर्वे गर्नको लागि सहमति दिएका छन् । उनीहरुले आयोजना निर्माणमा सकरात्मक सहयोग गर्ने पनि प्रतिवद्धता जनाएका छन् । 

नेपाल सरकारको खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत धरानमा कोशीको पानी ल्याउन डिपिआर अन्तिम चरणमा छ । कोशीको पानीलाई धरान ल्याउनु अघि बीचमा जम्मा गरेर प्रशोधन गर्न प्रशोधन केन्द्र स्थापना गर्नुपर्ने भएकोले मेयर साम्पाङ, उपमेयर बेघासहितको टोली बिहिबार बराहक्षेत्र वडा १ पुगेका हुन् । कोशीको पानी धरान ल्याउन बराहक्षेत्रसँग आवश्यक समन्वय गर्न कार्यपालिका बैठकले एक समिति पनि गठन गरेको थियो । वडा १८ र १३ का अध्यक्ष सोही समितिका सदस्य पनि हुन् । 

koshi mayor1

यसअघि डिपिआर तयार गर्ने कन्सल्टेन्टसहितको टोलीले प्रशोधन केन्द्र स्थापनाको लागि खारखोला (मौरीघार) को जग्गा स्थलगत अवलोकन गरेको थियो । सोही ठाउँमा केन्द्र बनाउन स्थानीयको जग्गा पनि खरीद गर्नुपर्ने भएकोले बिहिबार जग्गाधनीहरुसँग छलफल गरिएको र सकरात्मक परिणाम आएको खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले जानकारी दिए ।

उनका अनुसार सरोकारवालाहरुसँग छलफल गर्दा आयोजना निर्माणमा सकरात्मक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् भने उक्त क्षेत्रमा नापजाँच गर्न पनि सहमति दिने निर्णय भएको छ । साथै, स्थानीयको जग्गा खरिद गर्नुपर्ने भएकोले सर्वे पश्चात आयोजना क्षेत्रमा पर्ने जमिन जग्गाधनीहरुको पनि सहमतिमा मुल्य निर्धारण गर्ने निर्णय भएको पोखरेलले जानकारी दिए । 

koshi mayor2

मेयर साम्पाङले डिपिआर अन्तिम चरणमा रहेकोले प्रशोधन केन्द्रको लागि जग्गा निक्यौल नगरि पुरा नहुने भएकोले स्थानीयबासी सरोकारवालाहरुसँग छलफल गरिएको बताए । ‘प्रशोधन केन्द्र बन्ने ठाउँ यही हो भनेर निक्यौल गर्नुपर्नेछ, त्यसपछि मात्र डिपिआर तयार हुन्छ । आज सकरात्मक छलफल भयो,’मेयर साम्पाङले भने,‘डिपिआर २, ३ महिनाभित्र पुरा हुन्छ भन्ने छ । कोशीको प्रोजेक्ट चाडै अघि बढ्छ ।’

छलफलमा जग्गाधनीहरुले धरानको खानेपानी प्रोजेक्टलाई सहयोग गर्ने धारणा राखेका थिए । साथै उनीहरुले चलनचल्तीको मुल्यमा जग्गा खरिद गर्नुपर्ने माग पनि राखेका थिए । सामुदायिक वनका पदाधिकारी र स्थानीयले विकासको योजना पनि आउनुपर्ने धारणा राखेपछि मेयर साम्पाङले कोशी प्रोजक्ट सामान्य योजना नभएकोले उक्त प्रोजक्ट हेर्नकै लागि पनि पर्यटकलाई पनि आकर्षित गर्ने बताए । साथै उनले धरानले कोशीको पानी लैजादै गर्दा बराहक्षेत्र वडा १ को लागि पनि पिउने पानी उपलब्ध गराउने गरि अध्ययन भइरहेको पनि जानकारी दिएका थिए । काकाकुल सहर धरानको तिर्खा मेट्न कोशीको पानी ल्याउने योजना मेयर साम्पाङको प्रमुख चुनावी एजेण्डा हो । मेयरमा निवार्चित भएदेखि नै धरान भित्रका खोलाहरुबाट श्रमदानमार्फत पानी संकलन गरेर ख्याती कमाएका साम्पाङको ध्यान अब कोशीको पानी ल्याउन केन्द्रीत छ । 

भिडियो: