धरान: आफ्नै पार्टी नेपाली कांग्रेस र केन्द्रीय सत्ता गठबन्धनको निर्णय विपरीत मुख्यमन्त्रीमा दाबी पेश गरेका सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

नेकपा एमालेको ३९ जना सांसदसहित आफ्नो पक्षका ८ जना कांग्रेस सांसदको समर्थनमा कार्की आज मुख्यमन्त्री नियुक्त भएका हुन् । कार्कीको समर्थनमा रहेका सांसदहरुको सनाखत गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई संविधानको धारा १६८ को उपधारा ५ वमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । कार्कीले भोली आइतबार पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

केन्द्रीय सत्ता गठबन्धनले भने माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । सोही निर्णय वमोजिम आङ्बोले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । तर, गठबन्धन दलकै सांसद कार्कीले पनि प्रदेशसभाका बहुमत सदस्यहरुको समर्थनमा दाबी पेश गरेपछि आजको सनाखतमा उनीसहितका पक्ष सांसदहरु उपस्थित भएनन् । आफुसँगै ८ जना सांसद भएका कार्कीलाई एमालेका ३९ जना सांसदले पनि समर्थन गर्ने भएपछि उनको पक्षमा स्वतः बहुमत पुग्ने देखिएको थियो । कुल ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ४७ जना सांसद आवश्यक पर्छ ।