धरान: प्रदेश नं १ पुनःनामांकन संयुक्त संघर्ष समितिले मंगलबारदेखि आह्वान गरेको अनिश्चितकालिन धनकुटा बन्दले चाडपर्वमा सर्वसाधारणलाई दुःख हुने भन्दै यातायात व्यवसायीले फिर्ता लिन आग्रह गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश अध्यक्ष सरोज श्रेष्ठले सोमबार राती सामाजिक सञ्जाल फेसबुकमार्फत आन्दोलनरत पक्षलाई यस्तो आग्रह गरेका हुन् । उनले बन्दको कार्यक्रम फिर्ता लिएर वार्ता र संवादद्धारा समस्याको निकास निकाल्न आन्दोलनरत पक्ष, प्रहरी, प्रशासन एवं सरकारलाई अनुरोध पनि गरेका छन् । 

श्रेष्ठका अनुसार अहिले दशैं मनाउन देश बिदेशदेखि आ-आफ्नो घर जान हजारौं यात्रु आवतजावत गर्ने बेला हो । यो समयमा अत्यधिक सवारी चाप हुन्छ । तर, अकस्मात राति सुचना जारी गरेर भोलिदेखि अनिश्चितकालीन धनकुटा जिल्ला बन्दको घोषणा गर्नु मानवीय रुपमा तथा चाडपर्व मनाउन लामो यात्रा पार गरेर आएका यात्रुलाई एक्कासी बन्द हडताल गरेर दुख दिनु ठिक नहुने उनले उल्लेख गरेका छन् । 'बन्दको कार्यक्रम फिर्ता लिइ वार्ता र सम्वाद द्वारा समस्याको निकास निकाल्न आन्दोलन पक्ष तथा प्रहरी, प्रसासन एवं सरकारलाइ  हार्दिक अनुरोध गर्दछौ,'श्रेष्ठको भनाई छ । 

धनकुटामा आन्दोलनको क्रममा ५ दिनअघि पक्राउ परेका ३ जना पहिचान पक्षधरहरुलाई विनासर्त रिहा गर्न माग गर्दै अनिश्चितकालिन धनकुटा बन्दको आह्वान गरिएको छ । उक्त बन्दलाई सफल बनाउन धरानका पहिचान पक्षधरहरुले मंगलबार बिहानै ४ बजेदेखि बेसक्याम्पमा भेला भएर पहाडी रुटमा चल्ने गाडीहरुमा अवरोध गर्ने भएका छन् । यसले गर्दा चाडपर्वमा घर फर्कने यात्रुहरु भोलीदेखि धरानमै अलपत्र पर्ने सम्भावना छ ।