धरान: दशैंको शुभकामना आदनप्रदान गर्नेसहितको एजेण्डाहरु राखेर मेयर हर्क साम्पाङले बुधबारको लागि बोलाएको कार्यपालिका बैठक बस्न सकेन । 

बैठकमा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु अनुपस्थित भएपछि बैठक नभएको हो । दिउँसो २ बजेको लागि बोलाइएको बैठकमा कोही पनि नआएपछि मेयर साम्पाङ आफै पनि कार्यपालिका बैठक कक्षमा गएनन् । उपमेयर अइन्द्रबिक्रम बेघा पनि काम बिशेषले धनकुटाबाट आउन ढिला भएपछि निर्धारित समयमा बैठक कक्षमा केही पनि पुगेनन् । 

बैठक नभएपछि मेयर साम्पाङले कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दे आफुले बैठक बोलाएको तर वडाअध्यक्ष, कार्यपालिका सदस्यहरु किन नआएको भनेर थाह नभएको बताए । ‘मैले त बैठक बोलाएकै हो, उहाँहरु किन नआएको हो, त्यो चै उहाँहरुलाई नै सोध्नुपर्छ,’उनले भने ।

आफु जिम्मेवार भएको जिकिर गर्दै मेयर साम्पाङले चाडपर्वको शुभकामना र यसअघिको कार्यपालिका बैठकको थाती रहेको एजेण्डाहरु पनि रहेको जानकारी दिए । ‘कसको बानी के छ, कस्को बोली केछ भन्ने भन्नुभन्दा पनि जनताप्रति जिम्मेवार हुनुपर्छ । जनताको एजेण्डाहरु पारित गर्नुपर्ने हुन्छ,’ मेयर साम्पाङले भने,‘एक दुई जनाको कारण यस्तो भइरहेको छ ।’

मेयर साम्पाङले अब बैठक कहिले बोलाउने भन्ने प्रष्ट बताएनन् । उनले भने, 'अब कहिले बोलाउन मन लाग्छ, तब बोलाउछुँ । चामल लडाउछुँ, जोखना हेर्छु, र बोलाउछुँ ।' उपमेयर बेघाले आफु काम बिशेषले धनकुटा गएको र फर्कदा ढिलाई भएपछि बैठकको एजेण्डा प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईलाई पेश गर्दै गर्नु भनेको बताए । बैठक किन नबसेको भन्ने आफुलाई पनि थाह नभएको उनले बताए । 

यसअघिको असोज १७ गतेको बैठकमा मेयर र वडाअध्यक्ष, कार्यपालिका सदस्यहरुबीच भनाभन र चर्काचर्कीहरु परेपछि मेयर साम्पाङले बैठक स्थगित गरेका थिए । बिशेष गरि वडा नं १७ का अध्यक्ष मनोज भट्टराईले कार्यवाहक अध्यक्ष दिएर फेरि कार्यपालिका बैठकमा पनि आएको भन्दै मेयर साम्पाङले बैठकमा बस्न नपाउने अभिव्यक्ति दिएका थिए । यस्तै, घण्टाघरबाट उमेर हदको कारण अवकाश दिइएका २ जना कर्मचारीलाई पुर्नवहाली वा अनुदान रकम दिएर पठाउने एजेण्डामा विवाद भएको थियो । बैठकमा चर्काचर्की नै परेपछि मेयर साम्पाङले बैठक स्थगित गरेका थिए । 

भिडियो: