धरान: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ मंगलबार कानुनी सल्लाहकार, योजना तथा इञ्जिनियरीङ महाशाखा प्रमुख, खानेपानी बोर्डका कार्यकारी निर्देशकसहित कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई भेट्न विराटनगर पुगेका छन् ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएको र प्रदेश सरकार स्थिर हुने अवस्था बनेपछि मेयर राई रुद्राक्षको मालासहित बधाई दिन पुगेका थिए । तर यो भेट शिष्टचारमा मात्र सिमित रहेन । मुख्यमन्त्री कार्कीले मेयर साम्पाङसँग वान टु वान छुट्टै भेटवार्ता गरे । त्यसपछि भने सामुहिक भेटमा मेयर साम्पाङले मुख्यमन्त्री कार्कीलाई इटहरी र धरानको सिमाना विवादको बिषयमा नक्सासहित दस्तावेजहरु हस्तान्तरण गरेका थिए ।

mayor cm2

भेटपछि मेयर साम्पाङले जिल्ला समन्वय समितिमा निवेदन दिएर ताकेता गरेपछि इटहरी र धरानको सिमाना विवाद सुल्झाउन नसकेकोले प्रदेश समन्वय परिषदमा प्रमाण, कागजातहरुसहित बुझाएको जानकारी दिए । उक्त समितिबाट चाडै छलफल गरेर स्थायीरुपमा नै समाधान गर्ने आशा रहेको पनि मेयर साम्पाङले बताए । 

यस्तै, खानेपानीको बिषयमा पनि मुख्यमन्त्री कार्कीसँग कुराकानी भएको मेयर साम्पाङले बताए । चालु आर्थिक बर्षको बजेटमा प्रदेश सरकारबाट ४ करोड बजेट विनियोजन भएकोले उक्त बजेटलाई आर्थिक बर्षको अन्त्यमा भन्दा पनि चाडै काम गराउन आग्रह गरेको मेयर साम्पाङले बताए । 

mayor cm1

भेटको क्रममा मुख्यमन्त्री कार्कीले पनि प्रदेश र नगरको साझेदारीमा खानेपानी समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए । धरानका जनता मेयरका मात्र नभएको र प्रदेश, देशकै जनता भएकोले खानेपानीको समस्या हल गर्न प्रदेश र संघलाई पनि जोड्न प्रयन्त गर्ने बताए । संघलाई जोड्न नसकेपछि काकाकुल धरानको प्यास मेटाउन नगर र प्रदेश सरकारको साझेदारीमा काम गर्नुपर्ने मुख्यमन्त्री कार्कीले बताए ।