धरान: यो बर्षको तिहार अर्थात् यमपञ्चक आजदेखि आरम्भ भएको छ।

कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ ।

तिथिको घटबढले गर्दा भोली आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ । कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए।

गाईपूजा कात्तिक २७ गते सोमबार परेको छ । गोरुपूजा, हलितिहार, गोवर्द्धन, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २८ गते मङ्गलबार परेको छ। कात्तिक २९ गते बुधबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ। यस दिन बिहान १०ः५१  बजे भाइटीकाको उत्तम साइत पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

भाइपूजा र नेवारी भाषामा किजापूजा  कात्तिक २९ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ।