विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको अधिकार स्थापित गर्न संघीय सरकारसँग सहकार्य मात्र नभै संघर्ष पनि गर्ने बताएका छन् । 

मङ्गलवार विराटनगरमा स्थानीय तहहरूको असल अभ्यास आदानप्रदान कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले संविधानको कार्यान्वयन सही ढङ्गले गर्नुपर्नेमा जोड दिँदै भने,‘जबसम्म हामी पुरातन सोचमा हुन्छौँ, तबसम्म अगाडि बढ्न सक्दैनौँ । हामीले के गर्ने हो भन्ने कुरा योजनाका साथ जानुपर्ने हुन्छ । त्यसैले अहिलेको सरकारले संघ सरकारले समन्वयमात्रै नभई आफ्ना अधिकारहरू स्थापित गर्न सङ्घर्ष पनि गर्दछ ।’

मुख्यमन्त्री कार्कीले सरकारका संयन्त्रहरू दिगो विकाशका लक्ष्यअनुसार काम गर्नुपर्ने पनि बताए । ‘हामीले त काम सुरु गरिसकेका छौँ, कनिकासरी बजेट छर्ने परिपाटी अन्त्यगर्दै छौँ, प्रदेशले कतिसम्मको कार्यक्रम गर्ने, संघले कति र स्थानीयतहले कति गर्ने भन्ने कुरामा मापदण्ड बनाउनुपर्छ,’ उनले भने,‘ताकि संघ सरकारले पनि साना योजनामा बजेट नछरोस्, प्रदेशले त साना योजना कटौती गरिसकेको छ ।’

p

संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्री अनिता देवीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सभापतित्व मुख्यमन्त्री कार्कीले गरेका थिए । संघीय मन्त्री देवीले तीनै तहको सरकारबीच समन्वय भएमात्र विकासले गति लिनसक्ने बताइन् । ‘स्थानीय सरकारले अब कसरी अघि बढ्ने भनेर एउटा रोडम्याप बनाउन जरुरी छ,’उनले भनिन् । मन्त्री देवीले विनियोजित बजेट समेत स्थानीय सरकारबाट खर्च हुन सक्ने अवस्था सिजर्ना हुनु योजना तथा तयारीको अभाव भएको बताइन् । 

प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेले कतिपय संघीय कानुन निर्माण हुन नसक्दा साझा अधिकार सूचीमा रहेका अधिकारहरुको प्रयोग हुन नसकेको बताए । कार्यक्रममा विराटनगर महानगरका मेयर नागेश कोइराला,प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्य, विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । संघीयता कार्यान्वयनसँगै लोकतन्त्रको सुदृढीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालित असल अभ्यास कार्यक्रममा भएका उपलब्धिहरूका बारेमा भोलिसम्म प्रस्तुति दिइने छ ।