धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानका स्ववियु सभापति युवराज राई (अलौकिक) माथि घरेलु हतियारसहित आक्रमणको प्रयास गर्नेहरु छुटेका छन् ।

घटनाप्रति आत्मालोचित हुदै माफी मागेपछि आक्रमण प्रयास गर्ने विद्यार्थी नेता उमेश परियारसहित तीनै जना आज प्रहरी नियन्त्रणबाट छुटेका हुन् । क्याम्पसले निकालेको छात्रवृत्तिको सुचनाबारे विवाद हुँदा मंगलबार परियारले घरबाट खुकुरी ल्याएर आक्रमण प्रयास गरेपछि पक्राउ परेका थिए । उनीसँगै रहेका अन्य २ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । परियार फरक क्षमता (दृष्टिविहिन) विद्यार्थी नेता हुन् । उनी क्याम्पसका पुर्वस्ववियु सदस्यसमेत हुन् । हाल उनी शिक्षण पेशामा छन् । 

उक्त घटनाबारे राजनीतिक दलका नेतृत्वहरुबीच छलफल गरेर सहमति भएपछि प्रहरी कार्यालयमा मिलापत्र भएर छुटेका छन् । परियार एमाले निकट अनेरास्ववियुका पुर्वकेन्द्रीय सदस्य हुन् भने स्ववियु सभापति राई जनता समाजवादी पार्टी सम्बद्ध हुन् । दुवै पार्टीको धरान नगर नेतृत्वसमेत छलफलमा बसेर सहमति भएको हो । साथै, वडा नं १० का वडाअध्यक्ष विवेक राईले पनि घटना नदोहोरिने जिम्मा लिएपछि मिलापत्र भएको जसपा धरानका अध्यक्ष ताजुब लिम्बुले जानकारी दिए ।