धरान: जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट पीडित परिवारलाई नेकपा एमाले धरान उपमहानगर कमिटीले आर्थिक सहयोग गरेको छ । 

केन्द्रीय कमिटीले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई १ करोड रकम सहयोग गर्ने घोषणा अनुरुप एमाले धरानले आर्थिक सहयोग संकलन गरेको थियो । मंगलबार एक कार्यक्रमको आयोजना गरि एमाले धरानले १ लाख ६६ हजार ४ सय २५ रुपैया स्थायी कमिटी सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज शेरधन राईलाई रकम हस्तान्तरण गरेको छ । भूकम्प पीडितका लागि १ लाख ६१ हजार १ सय २५ रुपैयाँको चेक हस्तान्तरण गरिएको छ भने १८ नम्बर वडा कमिटीबाट थप प्राप्त नगद ५ हजार तीन सय रुपैयाँ पनि राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गरिएको सचिव राजेन्द्र कुमार राईले जानकारी दिए । 

पार्टीले घोषणा गरेको अभियानलाई कर्तव्य ठानेर रकम संकलन गर्ने र हस्तान्तरण गर्ने काम गरेको भन्दै एमाले केन्द्रीय कमिटीको तर्फबाट नेता राईले धन्यवाद दिएका थिए । पीडित जनताले सरकार भए–नभएको महशुस नगरेको तर नेकपा एमाले छ भन्ने त्यहाँका जनताले अनुभूति गरेको नेता राईले बताए ।

एमाले धरानले राहत संकलनका लागि ९ सदस्यीय राहत संकलन समिति निर्माण गरेको थियो । उक्त समितिले संकलन गरेको रकम केन्द्रीय कमिटीमा पठाइएको समिति संयोजक पारस काङमाङले जानकारी दिए । 'धरानका जनताबाट थोरै भए पनि सहयोग गर्न सकौ भनेर राहत संकलन गरिएको हो थियो,' संयोजक काङमाङले भने । 

उनका अनुसार नागरिक स्तरबाट ७३ हजार ५ सय ४० रुपैयाँ नगद संकलन गरिएको थियो । यस्तै, पार्टीका संगठित सदस्यहरुबाट एक सय रुपैयाका दरले ९२ हजार ८ सय ८५ रुपैया संकलन भएको पनि उनले बताए । वडागत तहबाट अझै पनि सहयोग रकम उठाउने कार्य जारी रहेको उनले बताए । नेकपा एमालेले ११ वटा समूह बनाएर भुकम्प प्रभावित क्षेत्रमा अस्थायी बासस्थान निर्माण गरिरहेको अध्यक्ष हर्कजङ एभेङले बताए । केन्द्रीय कमिटीले १ करोड रुपैयाँ प्रदान गर्ने घोषणा गरेकाले त्यसमा धरानले थप गरेको उनको भनाई थियो ।