धरान: धरान वडा नं १ स्थित भुमी मार्गमा वेवारिसे अवस्थामा फेला परेको शवको पहिचान गरेर आज बुधबार दाहसँस्कार गरिएको छ । 

मृत अवस्थामा फेला परेको शवको धरान संखुवासभा सरोकार समाज र धरान वडा नम्बर ४ का समाजसेवी चन्द्र कुलुङको सहयोगमा खत्रीधारामा अन्त्येष्टी गरिएको हो । सरोकार समाजका अध्यक्ष मिङमा भोटेका अनुसार मृतक व्यक्ति संखुवासभा सिलिचुङ गाउँपालिका वडा नं २ लामा टोल निवासी ४२ बर्षीय बालदिप राई भएको खुलेको थियो । मृतकको शव उनको दिदी हाल धरान वडा नं ५ देउराली बसोबास गर्ने गंगा कुमारी राईले सनाखत गरेकी थिइन् । 

धेरै दिनदेखि शव पहिचान गर्न समाज लागि परेको थियो । तर आफन्त फेला नपर्दा सनाखत हुन सकेको थिएन । आफन्तजन आज सम्पर्कमा आउनुभयो, र समाजले आकस्मिक बैठक बसेर अस्पतालसँग समन्वय गरेर दाहसंस्कार गर्ने सल्लाह वमोजिम गरियो ः समाजकी सल्लाहकार शिला वज्राचार्यले भनिन् ।