धरान: किरात वाम्बुले राई भाषाको २४ औं कविता प्रतियोगितामा धरान उपमहानगरपालिका–५ की कवि रेनुका राई प्रथम भएकी छन् ।

वाम्बुले राई समाज, नेपाल (वाम्रास) को २६ औं वार्षिकोत्सवको अवसरमा बुधबार धरानमा आयोजिक कविता प्रतियोगितामा राई प्रथम भएकी हुन् । कविता प्रतियोगितामा आयोजकले कविहरुलाई  ‘इक किरात प्रदेश’ अर्थात हाम्रो किरात प्रदेश शिर्षकमा कविता लेख्न आह्वान गरेको थियो । उनले प्रदेशको नाम ‘कोशी’ विरुद्धको आन्दोलनमा समर्थन जनाउदै लेखेको कविता वाचन गरेकी थिइन् । 

प्रतियोगितामा ओखलढुंगा मानेभन्ज्याङ–३ का कवि कमल किराती दोस्रो भए भने मानेभन्ज्याङ–५ का कवि श्याम वाम्बुले राई तेस्रो भए । धरान–५ का कवि जगतधन राई र विराटनगरकी कवि शुभकुमारी राईले सान्त्वना पुरस्कार पाए । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वनाद्धय कविहरुलाई क्रमशः १० हजार, ६ हजार, ४ हजार र २–२ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । समारोहका प्रमुख अतिथि भाषाशास्त्री प्राध्यापक डा. टंकप्रसाद न्यौपाने, वाम्रास केन्द्रीय अध्यक्ष तथा पत्रकार गजुरधन राई, वाम्रास सुनसरी अध्यक्ष लाखमान राईले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

वाम्रास केन्द्रीय समितिको आयोजना र सुनसरी जिल्ला कार्यसमितिको व्यवस्थापन रहेको प्रतियोगितामा दर्जनभन्दा बढी कविले प्रतियोगी र देश–विदेशबाट अप्रतियोगीसहित ६५ कविका कविता वाचन गरेका थिए । प्रमुख अतिथि प्रा.डा.न्यौपानले मातृभाषामा कविता गोष्ठीमात्र पर्याप्त नहुने धारणा राख्दै कथा, निबन्ध, मुन्धुमका अनेक पक्षबारे विधागत लेखन प्रतियोगिता पनि आयोजना गर्न सुझाव दिए । साथै उनले ‘वाम्बुले भाषा, साहित्य, संस्कृतिको उन्नतिमा औपचारिक पठनपाठनसमेत हुनुपर्ने औल्याए । पछिल्लो समय अन्तरभाषी विवाह, सहरीकरणलगायत कारणले भाषा, संस्कृति संकटतर्फ गएकोमा पनि उनको चिन्ता थियो । 

आयोजक वाम्रास केन्द्रीय अध्यक्ष राईले ऐतिहासिक किरातभूमिको अस्तित्व संरक्षणका निम्ति वाम्बुले साहित्यमा ‘इक किरात प्रदेश’ (हाम्रो किरात प्रदेश) शीर्षकमा कविता प्रतियोगिता आयोजना गरिएको बताए । उनले गाउँघरदेखि सहरसम्मै भाषा, संस्कार र संस्कृतिको जगेर्ना गर्दै आएको उल्लेख गर्दै पुर्खाले आर्जेका कला, संस्कृतिको रुपान्तरणका निम्ति साहित्य गोष्ठी र प्रतियोगिता निरन्तर आयोजना गरिराखेको पनि जानकारी दिए । 

कार्यक्रममा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली, किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष तिलक राई, यायोक्खा सुनसरीकी उपाध्यक्ष सुवित्रा राई, पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, वरिष्ठ पत्रकार हर्ष सुब्बा, फोनिज सुनसरीका उपाध्यक्ष सुनिल चौधरीले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

२०५५ देखि वाम्बुले राई भाषाको कविता प्रतियोगिता ओखलढुंगा, खोटाङ र उदयपुर जिल्लामा भौतिक उपस्थितिमा आयोजना हुदै आएको छ । कोभिड–१९ महामारीले ०७७ र ०७८ सालमा अनलाइन (भर्चुअल) माध्यमबाट कविता प्रतियोगिता भएको थियो भने ०७९ सालमा डेंगु महामारीको कारण प्रतियोगिता रोकिएको आयोजक संस्थाले जनाएको छ ।