धरान: भानुचोकस्थित बसपार्कमा यात्रुलाई आफ्नो बसमा सवार गराउन जर्बजस्ती तान्ने दृष्य सामान्य झै बनेको छ । बाटोमा हिड्दै गरेको पैदल यात्रु होस् वा लामो यात्राको लागि बस चढ्न आएका मानिस हुन्, यातायात मजदुरहरुले जर्बजस्ती तान्ने गरेका छन् । जसले गर्दा कहिले मान्छे एउटा गाडीमा र उसको सामान, झोला अर्को गाडीमा पुग्छ ।

यो विकृति अन्त्यको लागि लामो समयदेखि प्रयास भइरहेको छ, तर पनि सफलता मिलेको छैन । अहिले भने स्थानीय सरकार, जनप्रतिनिधि, ट्राफिक प्रहरी, जनपद प्रहरी र यातायात व्यवसायीहरु सबै यो बेथिती अन्त्य गर्न लागिपरेका छन् । बिहिबार (आज) वडा नं २ का वडाअध्यक्ष रमेश राईको पहलमा जिल्ला ट्राफिक प्रहरी प्रमुख सुभास केसी, भानुचोकस्थित वडा प्रहरी कार्यालयका इञ्चार्ज सई किरण मोक्तान, बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटा, यातायात व्यवसायी तथा मजदुरसहित छलफल भएको थियो । उक्त छलफल भानुचोकको अव्यवस्थित सवारी चाप नियन्त्रण गर्न र यात्रु तानातान गर्ने प्रवृत्ति अन्त्य गर्न केन्द्रीत भएको थियो ।

bhanu chok bus

छलफलले भानुचोकमा आफ्नो पालो आउन भन्दा ५, ६ घण्टा अघि नै बस ल्याएर राख्ने चलन हटाएर मात्र आधा घण्टा अघि ल्याउन दिने सहमति गरेको थियो । यसले सवारी चाप कम भएर अस्तब्यस्तता हटाउने अपेक्षा लिइएको छ । यस्तै, यातायात कर्मचारी तथा मजदुरहरुले अनिवार्य परिचय पत्र लगाउनुपर्ने, यात्रु तानातान नगर्ने र गर्नेलाई कारबाही गर्ने, बसमा अनिवार्य डस्टविन राख्ने विगतको निर्णयलाई कडारुपमा कार्यान्वयन गर्ने पनि छलफलले सहमति गरेको छ । 

उक्त सहमति लगत्तै वडाअध्यक्ष, ट्राफिक प्रहरी प्रमुख, वडा प्रहरी इञ्चार्ज, यातायात व्यवसायीहरुको टोली बस स्टेण्डहरुमा गएर यात्रु तानातान नगर्न र गरेमा कानुनी कारबाही हुने भन्दै सचेत पनि गराएका थिए । ट्राफिक प्रहरी प्रमुख केसीले अब एक सातासम्म सम्झाउने र त्यसपछि पनि तानातान गरे कानुनी कारबाही गर्ने बताए । वडाअध्यक्ष राईले यो अभियानलाई निरन्तरता दिने र सबै मिलेर बसपार्क क्षेत्रलाई व्यवस्थित, सुरक्षित बनाउने बताए । 

भिडियो: