धरान: मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएकोप्रति धरानका विभिन्न पाँच राजनीतिक दलहरुले विरोध जनाएको छ ।

नेपाली कांग्रेसका सभापति श्याम पोख्रेल, एमालेका उपाध्यक्ष पारस काङमाङ राई, नेकपा माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष सम्फर तामाङ, जसपा नेपालका अध्यक्ष ताजुब लिम्बु र नेकपा एकीकृत समाजवादीका सचिव खेम प्रसाद दाहालले संयुक्त विज्ञप्ती जारी गर्दै राष्ट्रप्रमुख र कार्यकारी प्रमुखको तस्बिर हटाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । साथै, उनीहरुले धरानका मेयरले संविधानको ठाडो उल्लंघन गर्ने कार्य गरेको पनि जनाएको छ ।

दलहरुले जारी गरेको विज्ञप्तीमा धरानका मेयर साम्पाङले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रणालीमाथि गम्भीर प्रहार भएको उल्लेख गरेको छ । ‘नेपालको संविधान २०७२ को धारा ६१ बमोजिम राष्ट्र प्रमुख र प्रधानमन्त्रीको तस्बिर संविधानको रक्षक र कार्यकारी प्रमुखको सम्मानमा राख्न सबैको कर्तव्य हुने भन्ने उल्लेख गरिएको छ । आजको मितिमा धरानको प्रमुखले आफ्नो कार्यकक्षको भित्तामा राखिएको राष्ट्रप्रमुख, कार्यकारी प्रधानमन्त्रीको तस्बिर हटाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ,‘यसले धरान उपमहानगरका प्रमुखबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रणालीमाथि गम्भीर प्रहार भएको छ । यसैप्रणालीलाई टेकेर अध्यावधिक निर्वाचनमार्फत निवार्चित उपमहानगर प्रमुखले संविधानको ठाडो उल्लंघन गर्ने कार्य गरेको हाम्रो ठहर छ ।’

दलहरुले धरानका मेयरको सामाजिक सञ्जालको प्रस्तुती र गतिविधिले निरंकुश र उदण्ड शैलीमार्फत हिटलरको बाटोमा हिड्न खोजेको भन्ने बहसलाई उजागर गरेको पनि जनाएको छ । सुन्दर, शान्त, सभ्य र शिक्षित सहरकोरुपमा विकसित हुदै गइरहेको धरानलाई हास्य र लज्जाको सहरकोरुपमा परिणत नगर्न पनि दलहरुले मेयर साम्पाङलाई सचेत गराएको छ । साथै, संविधान र राष्ट्रप्रति सोही प्रकृयाबाट निवार्चित भएका राष्ट्रप्रमुख राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्बिर यथास्थानमा राख्न पनि दलहरुको माग छ । 

मेयर साम्पाङले आज आफ्नो कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर हटाएर प्रथम किराती राजा मानिएका यलम्बरको मात्र तस्बिर राखेका छन् । उनले आफ्नो कार्यकक्षमा पत्रकारहरुलाई प्रवेश गरेर तस्बिर खिच्न पनि दिएका छैनन् । 

press