धरान: मेयर हर्क साम्पाङको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्न गएका दलका नेता, कार्यकर्ताहरु अन्ततः तस्बिर नराखी फर्किएका छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका नेता, कार्यकर्ताहरु मंगलबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिर लिएर उपमहानगरपालिका पुगेका थिए । राजनीतिक दलहरुले आफ्नो भातृ संस्था तथा जनसंगठनहरुलाई परिचालन गरेको थियो । सिंहदेवी चोकमा भेला भएका पार्टीका नेता, कार्यकर्ताहरुले नारा लगाउदै र्याली निकालेका थिए ।

पार्टीहरुको र्याली आउने भएपछि बिहानैदेखि उपमहानगरपालिकामा ठुलो संख्यामा जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । इटहरीबाट पनि प्रहरी जनशक्ति थप गरिएको थियो । ठुलो संख्यामा उपमहानगरपालिका मेनगेटमा पुगेका दलका नेता, कार्यकर्ताहरुलाई प्रहरीले भित्र प्रवेश गर्न रोक लगाएको थियो । उक्त समयमा सेवाग्राहीहरुलाई पनि प्रहरीले प्रवेशमा रोक लगाएको थियो । प्रहरीले पाँच राजनीतिक दलका ९ जना प्रतिनिधिहरुलाई मात्र तस्बिरसहित भित्र प्रवेश गर्न दिएको थियो । भातृ संगठनहरुको आन्दोलन भनिए पनि वार्ताको लागि कांग्रेसका पार्टी नगर सचिव हिमाल श्रेष्ठ, एमालेका उपसचिव दिवस राई पनि उपमहानगर पुगेका थिए । 

तस्बिरसहित पुगेका दलका नेता, भातृ संगठनका नेताहरुसँग मेयर साम्पाङको कार्यकक्षमा करिब २ घण्टा वार्ता भएको थियो । त्यसक्रममा मेयर साम्पाङले आफुलाई केन्द्र सरकार र प्रधानमन्त्रीबाट धरान उपमहानगरलाई अपमान गरेको महशुस गरेको कारण तस्बिर हटाएको र पछि केन्द्रले हेरेको महशुस भएमा राख्ने धारणा राखे । दलका भातृसंगठनका नेताहरुले मेयरले घोषणा गरेर राष्ट्र प्रमुख र कार्यकारी प्रमुखको तस्बिर हटाउदा अपमान भएकोले ससम्मान तस्बिर राख्न मेयर साम्पाङलाई आग्रह गरेका थिए । 

photo1

मेयर साम्पाङले भने तस्बिर नराख्ने अडान लिदै आफुले कानुन उल्लंघन गरेको भए मुद्दा हालेर कानुनी उपचारमा जान चुनौती दिएका थिए । यद्यपी, धरान उत्सवको उद्घाटनमा प्रधानमन्त्री निमन्त्रणा गर्न दलहरु सहमत भएर लेटरप्याडमा पत्राचार गरेको सार्वजनिक भएमा चौबिस घण्टाभित्र आफैले तस्बिर राख्ने सर्त राखेका थिए । मेयर साम्पाङको उक्त सर्तमा सहमत भएर सहमतिको मस्यौदा पनि तयार भइसकेको थियो । मेयर साम्पाङको तर्फबाट तयार भएको मस्यौदामा राजनीतिक दलहरुले संशोधन गर्दै प्रधानमन्त्रीलाई निमन्त्रणा गर्न राजनीतिक दलहरुलाई आग्रह गर्ने भन्ने शब्द थप गरेका थिए । उक्त प्रस्तावमा भने मेयर साम्पाङले सहमत नभएपछि अन्तिममा वार्ता विना निष्कर्ष टुंगिएको थियो । 

करिब २ घण्टाको वार्ता निष्कर्षविहिन टुंगिएपछि राजनीतिक दलका भातृसंस्थाहरुले मेयरको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर नराखि बोकेर फर्किए । उनीहरुले मेयर साम्पाङलाई कार्यकक्षमा तस्बिर राख्न ३ दिनको अल्टिमेटम भने दिएका छन् । वार्तामा सहभागी कांग्रेसका नगर सचिव हिमाल श्रेष्ठले तीन दिनभित्र मेयरले तस्बिर नराखे त्यसपछि राजनीनिक दलहरुले आफ्नो कदम चाल्ने बताए । मेयर साम्पाङले पनि पत्रकारहरुलाई प्रतिक्रिया दिदै केन्द्र सरकारले आफु र समग्र धराने जनताको अपमान गरेकोले तस्बिर हटाएको बताए । उनले केन्द्र सरकारले धरानलाई पनि हेरेको महशुस भएमा मात्र भविष्यमा आफुले तस्बिर राख्ने पनि धारणा पत्रकारहस्सँग दोहोर्याए । उनले आफु स्थानीय सरकारको अधिकारको लागि केन्द्र सरकारसँग आन्दोलनमा रहेको र यसमा राजनीतिक दल, जनताले पनि साथ दिनुपर्ने बताए । 

मेयर साम्पाङले पुष १२ गते राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर आफ्नो कार्यकक्षको भित्ताबाट हटाएर किराती प्रथम राजा यलम्बरको मात्र राखेका थिए । पुष २० गते शुरु हुन लागेको ५ दिने धरान उत्सवको उद्घाटन समारोहमा एक महिना अघि नै प्रमुख अतिथि बोलाउदा पनि प्रधानमन्त्रीले समय नदिएको भन्दै मेयर साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका थिए । विराटनगरमा २ पटक आउन भ्याउने तर धरानमा स्वतन्त्र मेयर निवार्चित भएकैले बोलाउदा पनि एक पटकसमेत नआएर अपमान गरेकोले तस्बिर हटाएको जिकिर मेयर साम्पाङको छ । धरानका राजनीतिक दलहरुले भने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रप्रमुख र कार्यकारी प्रमुखको तस्बिर अपमानपुर्वक हटाएको भन्दै पुनःस्थापित गर्नुपर्ने माग गर्दै आएको छ । 

भिडियो:

भिडियो:

भिडियो:

भिडियो: