धरान: विभिन्न राजनीतिक दलका युवा समुहहरुबीचको विवादको कारण धरानमा बन्द गरिएको दशैं तिहार मेला आगामी बर्षदेखि सञ्चालन गर्ने घोषणा मेयर हर्क साम्पाङले गरेका छन् । 

१२३ औं स्थापना दिवसको अवसरमा शुरु हुन लागेको पाँच दिने धरान उत्सवबारे बुधबार आयोजित पत्रकार सम्मेलनमा मेयर साम्पाङले यस्तो घोषणा गरेका हुन् । उनले विगतमा मेलाको बिषयलाई लिएर झगडा भएको भनेर अहिले पनि मेला बन्द गराउनु उचित नहुने बताए । गएको दशैंतिहारमा नै मेला सञ्चालनको एजेण्डा कार्यपालिका बैठकमा आफुले पेश गर्ने तयारी गरेपनि बैठक बस्न नसक्दा निर्णय हुन नपाएको उनको भनाई थियो । 

मेयर साम्पाङले आगामी बर्षको दशैं तिहारमा भने मेला हुने दाबी गरे । ‘पहिला झगडा गरे भनेर अहिले त्यही भुतले तर्साइरहेको छ,’ उनले भने,‘पारदर्शी भएर गर्ने हो । धरानमा मनोरञ्जन गर्न नहुने हो र ? एउटा रोटेपिङ खेलाउन नहुने, किन भन्दा झगडा भयो रे ।’ उनले धरानलाई मेघा सिटी बनाउनको लागि मनोरञ्जन पनि आवश्यक भएको बताए । 

मेलामा पैसाको धेरै खेल हुने र मनोरञ्जनको खेलाहरु आफुलाई दिन दबाब दिने गरेको बिषयमा पत्रकारको प्रश्नमा मेयर साम्पाङले सुचना निकालेर बोलपत्र आह्वान गर्ने र जसले धेरै राजश्व तिर्छ, उसैले पाउने बताए । ‘जसले धेरै राजश्व तिर्छ, उसले सञ्चालन गर्छ । तर जुवाजन्य कुरा हुदैन,’उनले भने । 

भिडियो: