धरान: नेपाल सरकारका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई सुधार गर्न आफु कस्सिएर लागेको बताएका छन् । 

प्रतिष्ठानको समस्या बुझ्नको लागि बिहिबार धरान आइपुगेका मन्त्री बस्नेतले धरान २ स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले वीपी प्रतिष्ठानलाई सुधार गर्न धरानबासीहरु पनि एकढिक्का भएर जुट्नुपर्ने बताए । उनले आफु पनि कस्सिएर प्रतिष्ठान सुधारमा लाग्ने र ३ महिनभित्र रिजल्ट दिने घोषणा गरे ।

‘राजनीतिक कुरा चुनावको बेला गर्ने हो । वीपी प्रतिष्ठानलाई एकढिक्का भएर अगाडि बढाउन नसक्ने हो भने कमजोर हुन्छ, वीपी कमजोर हुदा धरानबासी कमजोर हुन्छ । यहाँको मान, प्रतिष्ठान, आर्थिक स्रोत, शैक्षिक स्रोत पनि कमजोर हुदै जान्छ,’मन्त्री बस्नेतले भने,‘धरानका सम्पुर्ण दाजुभाई, दिदीबहिनीहरुलाई आग्रह छ, मैले स्वास्थ्य मन्त्रीकोतर्फबाट सुधार गर्ने कुरामा कुनै कसुर बाँकी हुदैन, आजैको मितिबाट कस्सिएर काम गर्न तयार छुँ । तपाईहरु पनि राजनीतिक नगरि एकढिक्का भएर लाग्नुस्, ३ महिनाभित्र रिजल्ट दिने गरि काम गर्छु ।’

मन्त्री बस्नेतले एउटा एमआरआई मेशिन खरिद गर्न ३० औं करोड लाग्ने भएकोले धेरै खरिद गर्न नसक्ने बताए । तर, वीपी प्रतिष्ठानको लागि भने यसैबर्षको बजेटमा एमआरआई मेशिन खरिद गर्न व्यवस्था गर्ने पनि उनले बचन दिए । ‘आवशयकता छ भन्ने मलाई थाह छ, यसैबर्ष एमआरआईको व्यवस्था गर्छु,’ उनले भने । 

mohan basnet

यसैगरि, मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐनको केही प्रावधानको कारण वीपी प्रतिष्ठानको एमबिबिएस सिट संखया ५० वटा घटाएर १०० मा सिमित गरेपछि संस्थाको अद्योगति शुरु भएको पनि बताए । ‘यो संस्था राम्रो थियो । तर चिकित्सा शिक्षा ऐनमा भएको केही व्यवस्थाले ५० जना एमबिबिएस कोटा घटाइदियो, त्यहाँबाट यो संस्थाको अधोगति शुरु भयो । त्यसबारे धरानका कोही बोल्न सकेनन्,’उनले भने ।

मन्त्री बस्नेतले अर्को शैक्षिक सत्रबाट विगतमा खोसिएको ५० जनाको कोटा वीपीले पाउने वातावरण तयार गर्ने पनि उनले वचन दिएका छन् । यसले प्रतिष्ठान सुधारमा ठुलो मद्दत पुग्ने उनले बताए । यो ऐनको केही कमजोरीले गर्दा नेपालको चिकित्सा शिक्षामा समस्या भएको भन्दै उनले लाखौंको संख्यामा विद्यार्थी विदेश पढ्न जादा नेपालको खबौं रुपैया विदेशिएको पनि बताए । 

‘विदेशबाट पढ्न आउने डाक्टर र अरबौ ंरुपैया बन्द भएको छ । त्यसकारणले चिकित्सा शिक्षा ऐन संशोधन पनि अघि बढाइसकेको छुँ, सरकारी अस्पतालमा पढाउने पनि कुरा गरेको छुँ,’मन्त्री बस्नेतले भने,‘यी दुवै कुरा भएमा नेपालमा विदेश जाने खरबौं रुपैया यही रहन्छ, लाखौं मानिसहरु नेपालमै बस्छन् । हजारौंले रोजगारी पाउछन् ।’ 

मन्त्री बस्नेतले प्रतिष्ठानका शिक्षक र कर्मचारीहरुको बढुवा प्रक्रियालाई विधि र प्रक्रिया पुरा गरेर गर्नुपर्ने पनि बताए । विधिर प्रक्रिया नपुर्याई प्रमोशन गर्दा स्टे अर्डरले आउने र कानुनी झमेला पनि हुने मन्त्री बस्नेतले बताए । ‘दोस्रो कुरा यहाँ भने अनुसार प्रमोशन गर्दा बार्षिक २४ करोड यो संस्थाले वा सरकारले आर्थिक दायित्व व्यहोर्नुपर्छ,’ उनले भने,‘भिसि, रेक्टर, रजिष्ट्रार, अस्पताल निर्देशकलाई विधि र प्रक्रिया पुर्याएर, लोकसेवालाई अनुमति मागेर मिलाएरै जानुपर्छ भनेको छुँ । प्राध्यापक र कर्मचारीको प्रमोशनलाई अघि बढाउन सकरात्मक छुँ ।’

भिडियो: