धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक र कर्मचारीहरुले व्यवस्थापन पक्षलाई शनिबारसम्म माग सम्बोधन गर्न समय दिएका छन् ।

शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले बिहिबार संयुक्त विज्ञप्ती जारी गर्दै शनिबारसम्म पनि माग सम्बोधन नभए आइतबारदेखि इर्मजेन्सी, आइसियु र अन्तरंग (वार्ड) सेवाबाहेक सम्पुर्ण सेवाहरु बहिष्कार गर्ने घोषणा गरेको छ । अवरुद्ध भएको शिक्षक तथा कर्मचारीहरुको अन्तर्वार्ता पुष २८ गतेभित्र सुचारु गर्न आन्दोलनरत पक्षको माग छ । 

शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेराज अहमद खान र कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले संयुक्त विज्ञप्ती जारी गर्दै बिहिबार संयुक्त बैठक बसेर आन्दोलनको कार्यक्रमहरु तय भएको जानकारी दिएका छन् । सोही बैठकले कलुपति एवं प्रधानमन्त्री, सहकुलपति एवं स्वास्थ्यलगायत निकायहरुमा कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीलाई बर्खास्त गर्न माग गर्दै पत्राचार गर्ने पनि निर्णय भएको पनि विज्ञप्तीमा उल्लेख छ । 

यस्तै, पठनपाठन र परिक्षा लगायत सम्पुर्ण प्रशासनिक कार्यहरु पनि पुष २९ गते आइतबारदेखि नै बहिष्कार गर्ने, आन्दोलनरत शिक्षक, कर्मचारीहरु प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म अनिवार्यरुपमा उपकुलपति कार्यालय अगाडि धर्ना बस्ने पनि उल्लेख छ । आन्दोलनबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार स्वयम व्यवस्थापन पक्ष र पदाधिकारीहरु हुने पनि विज्ञप्तीमा उल्लेख छ । 

bp andolan press