धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेट सदस्य समेत रहेका मेयर हर्क साम्पाङले कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाइदिएका छन् ।

शिक्षक, कर्मचारीहरु आन्दोलनमा उत्रिएको बेला प्रतिष्ठानको समस्या समाधान गर्न छोडेर विदामा बसेका का.मु.उपकुलपति कार्कीको कार्यकक्षमा आज सोमबार दिउँसो मेयर साम्पाङले तालाबन्दी गरेका हुन् । ताला लगाउदै मेयर साम्पाङले कसैले पनि ताला नखोल्न चेतावनी पनि दिएका छन् । आवश्यक भएपछि आफै आएर ताला खोल्ने उनको भनाइ छ ।

का.मु.उपकुलपति डा.कार्की केही दिनदेखी सम्पर्कविहिन छन् । कार्यकारिणी समितिको बैठक बोलाएर विदामा बसेपछि शिक्षक, कर्मचारीहरुले उपकुलपतिलाई प्रतिष्ठानमा निषेधित क्षेत्र घोषणा गरेका छन् । का.मु.उपकुलपतिमा नियुक्ति भएपछि कार्कीले बढुवा प्रक्रिया रोकेका थिए । गत कार्तिक २० गते शिक्षक, कर्मचारीसङ्ग छुट्टाछुट्टै सहमति भएको थियो, तर उक्त सहमति कार्यान्वयन नगरी सम्पर्कविहिन भएर बसेका छन् । आन्दोलनरत पक्ष र मेयर साम्पाङले पनि का.मु.उपकुलपतिको राजीनामा मागेका छन् ।

यसैबीच, कार्यलयमा अनुपस्थित रहेका डा कार्कीले रजिस्ट्रार प्रा.डा.सुर्यप्रसाद सङ्ग्रौलालाई दिएको अधिकार खोसेका छन् । उनले रजिस्ट्रारलाई पत्र पठाउदै सम्पुर्ण अधिकार फिर्ता लिएको र आफ्नो स्वीकृति विना काम नगर्न निर्देशन दिएका छन् । प्रतिष्ठानमा उपकुलपतिले अन्य पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने नियम छ ।