धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक कर्मचारीहरुको आन्दोलनले पठनपाठन ठप्प हुँदा विद्यार्थीहरु मारमा परेका छन् ।

प्रतिष्ठानका शिक्षक र कर्मचारीहरू संयुक्त आन्दोलनमा उत्रिएपछि आइतबारदेखि ओपिडी र शैक्षिक क्षेत्रह ठप्प भएको छ। बढुवाको माग लिएर प्रतिष्ठानको शैक्षिक क्षेत्र पुर्णरुपमा बन्द भएको यो तेस्रो पटक हो । यस अघिको आन्दोलनले पनि करिब डेढ महिना शैक्षिक गतिविधि रोकिएदा शैक्षिकसत्र लम्बिएको थियो । जस्ले गर्दा विद्यार्थीहरुलाई मानसिक तनाव र आर्थिक बोझ थपिएको विद्यार्थी कल्याण समाजका अध्यक्ष डा.ओम शान्ति रजकले बताए ।

आन्दोलन हुँदा विद्यार्थीहरूलाई प्रत्यक्ष असर पर्ने र विद्यार्थीहरूमा नैराश्यता बढ्दो रहेको पनि अध्यक्ष डा.रजकले बताए । यसैबिच सोमबार प्रतिष्ठानका विद्यार्थीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । का.मु. उपकुलपति लगायत अन्य पदाधिकारी, सम्पूर्ण सम्बन्धित निकाय र सरोकारवालाहरूको ध्यानाकर्षण गराउन उपकुलपतिको कार्यालय अगाडि धर्ना दिइएको रजकले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानका करिब ३०० विद्यार्थीले धर्ना दिएका थिए । 

पठनपाठनका सबै कार्यक्रम ठप्प पारिएपछि विद्यार्थीहरूले पाठ्यपुस्तक लिएर पढ्दै शैक्षिक बन्दको सांकेतिक विरोध गरेका थिए । विद्यार्थीहरूको समस्यालाई बुझेर शैक्षिक बन्दको कुनै न कुनै किसिमले हल निकालिदिन अनुरोध पनि गरिएको समाजले जनाएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशकले समस्याको हल नगरी केन्द्रीय निकायबाट आफूहरू नफर्किने मौखिक प्रतिबद्धता जनाएकोले आफुहरु आशावादी रहेको अध्यक्ष रजकले बताए ।