धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कार्यकारिणी समिति (का.स.) बैठक शुरु भएको छ । 

प्रतिष्ठानको भिभिआइपी गेष्ट हाउसमा निर्धारित समयभन्दा करिब अढाई घण्टा ढिला गरि बैठक शुरु भएको हो । दिउँसो ४ बजेको लागि सिनेट बैठक बोलाइएको थियो । तर, राती करिब साढे बजेतिर मात्र बैठक शुरु भएको हो । कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीले काठमाण्डौंमा बैठक बोलाएपनि आन्दोलनरत पक्षले धरानमै बैठक बस्नुपर्ने अडान लिएपछि शुक्रबार र शनिबार बैठक हुन सकेन । का.स.बैठक नै अन्योलपुर्ण बनेपछि प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले कार्कीलाई हिजो आइतबार संहदरबार बोलाएर तत्काल धरान फर्किएर बैठक राख्न निर्देशन दिएका थिए ।

bp andolan ka.sa1

प्रधानमन्त्रीको उक्त निर्देशन पछि आइतबार नै का.मु.उपकुलपति कार्की धरान आएर आज (सोमबार) दिउँसो ४ बजेको लागि बैठक बोलाएका थिए । का.स.बैठक भएपनि आन्दोलनरत पक्ष भने एजेण्डामा आफुहरुको माग सम्बोधन हुने गरि एजेण्डा समावेश नगरिएको भन्दै असन्तुष्ट छन् ।

आन्दोलनरत पक्षको माग का.स.बैठकबाट नै अवरुद्ध भएको अन्तर्वार्ताको मिति तोक्नुपर्ने भएपनि एजेण्डामा आगामी सिनेट बैठकमा पेश गर्ने प्रस्तावकोरुपमा मात्र बढुवाको विज्ञापन र अन्तर्वार्ताको एजेण्डा राखिएको शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेराज अहमद खानले बताए ।  उनले भने,‘हाम्रो माग यही का.स.बैठकले अन्तर्वार्ताको मिति तोक्नुपर्छ भन्ने हो, तर यो बैठकमा भने सिनेटमा लैजाने भन्ने एजेण्डामा छ । यो हामीलाई स्वीकार्य हुदैन । सिनेटले त रिजल्ट निकालेर स्वीकृत गर्नुपर्छ ।’

बैठकमा कार्यकारिणी समिति सदस्य रहेका प्रतिष्ठानका २ जना डाक्टरहरुलाई भने सहभागी गराइएको छैन । प्रा.डा.स्मृति कार्की र प्रा.डा.ज्ञानेन्द्र मल्लको समयावधि अझै रहेको भएपनि बैठकमा दुवै जनालाई नबोलाइएको भन्दै आन्दोलनरत पक्षले आशंका व्यक्त गरेका छन् । अध्यक्ष डा.खानले भने, 'उहाँहरुको अवधि अझै बाकी छ, तर किन बैठकमा बोलाइएन ? यसले केही खिचडी पाकीरहेको छ भन्ने आशंका छ । '

भिडियो: