धरान: धरान १६ रंगशालामा शुक्रबारदेखि शुरु हुने धरान एक्स्पो २०८० को पहिलो दिन साँझ म्युजिकल ब्याण्ड ‘रकहेड्स’ले प्रस्तुति दिने भएको छ ।

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा फागुन ११ गतेदेखी ‘धरान एक्स्पो–२०८०’ सुरु हुदैछ । एक्स्पोको पहिलो दिनमै दर्शक माझ निकै क्रेज रहेको म्युजिकल ब्याण्ड ‘रकहेड्स’ आउने भएको हो । 

नेपाली साङ्गीतिक क्षेत्रमा छोटो समयमा लोकप्रिय बन्न सफल ‘रकहेड्स’का ‘रङ्ग’, ‘हजार जन्म’, ‘सिधा कुरा’ लगायतका गीत चर्चित छ। सञ्जय अर्याल, सम्यक लामा, अरुण तण्डुकार र दावा शेर्पा सम्मिलित ‘रकहेड्स’ले हालसम्म बजारमा ४ वटा एल्बम ल्याइसकेको छ ।

पहिलो दिन ‘रकहेड्स’ मुख्य आकर्षण रहने एक्स्पोमा बेलुका ६ बजेबाट साङ्गीतिक कार्यक्रम सुरु हुने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । रकहेड्सलाई स्थानीय कलाकार र समूहले साथ दिनेछ । एक्स्पोमा बिहानदेखि बेलुका ४ बजेसम्म प्रवेश निःशुल्क छ भने बेलुका ५ बजेपछि प्रवेश टिकट २०० रुपैयाँ रहेको पनि संयोजक श्रेष्ठले बताए ।