धरान: कवि गीलु रातोसको ‘सिलीदुङ’ कविता सङ्ग्रहमा माक्र्सवादी चेतसँगै पहिचानको आवाज रहेको समीक्षकहरूले बताएका छन्।

सङ्ग्रहले प्रगतिशील धार र पहिचानको मुद्दा दुवैलाई सन्तुलित रूपमा बोकेको धारणा दिएका छन् । कलरव धरानले शनिबार आयोजना गरेको कृति विमर्शमा बोल्दै वरिष्ठ कवि कुन्ता शर्माले सङ्ग्रहले माक्र्सवादी सौन्दर्य चेतनालाई आत्मसात गरेपनि जनजातीय विम्बलाई आधार बनाएको बताइन् ।'रातोसको कविताहरूमा जनयुद्ध लडेको पीडा छ । प्रगतिशीलता छ । त्योसँगै पहिचानको कुरा छ । समुदायको विम्ब छ,' उनले भनिन् । उनले माओवादी जनयुद्धले पहिचानको मुद्दालाई उठाएर व्यवस्थापन गर्न नसकेपनि चेतना ल्याउन सफल भएको र त्यसको प्रतिविम्ब कृतिमा देखिएको बताइन् ।

त्यस्तै, कवि एवम् पत्रकार जनकऋषि राईले जातीय मुद्दा र पहिचानको आन्दोलनलाई सम्बोधन नगरी वर्गीय मुद्दा पूर्ण नहुने बताए। उनले 'सिलीदुङ' मा प्रचुर मात्रामा सामुदायिक साँस्कृतिक चेत भएको दाबी गरे । 'सिलीदुङमा प्रचुर किराती चेतना छ । मिथ, विम्ब र भाव छ । यसले नेपाली साहित्यलाई अरू खँदिलो बनाउनेछ,' राईले भने,'गिलु जस्ता सचेत कविहरूलाई हेर्दा साहित्य अरू फराकिलो हुँदैछ भन्ने विश्वास लागेको छ । एकात्मक राज्यसत्ताको मनोविज्ञानलाई कृतिले चुनौती दिएको छ ।'

silidung

होटल पूर्वी स्टारमा भएको विमर्शलाई कवि एवम् साँस्कृतिक अभियन्ता अमित थेवेले सहजीकरण गरेका थिए । कार्यक्रममा बोल्दै कवि रातोसले कृतिबारे बोल्दै पहिचानको मायाले पुस्तक निस्किएको बताए । उनले कृतिले मूलतः भाषिक र साँस्कृतिक मुद्दालाई वर्गीय चेतसँग उठाउन खोजेको जनाए । 'युद्ध लड्दा देखेको, भोगेको कुरा छ । साथै, म हुर्किएको माझ किरातको परिवेश छ । सिलीदुङ को अर्थ सिलीको समय या युग हो,' पूर्व जनमुक्ति सेना समेत रहेका रातोसले भने । उनले सङ्ग्रहबाट 'बाटोमा नदेखाइएका आत्माहरू' कविता सुनाए ।

कार्यक्रममा वरिष्ठ कवि बम देवानले समापन मन्तव्य राख्दै नेपालमा सामाजिक साँस्कृतिक र जातीय समानताको आन्दोलनले राजनीतिलाई प्रभावित गरिरहेको बताए । उनले रातोसको कविता कृतिमा उत्पीडितहरूको आवाज सुन्न सकिने बताए । कार्यक्रम कवि इन्दु योञ्जनले सञ्चालन गरेका थिए ।

४४ कविताहरू समेटिएको ‘सिलीदुङ’ कवितासंग्रह थेबा–ला पब्लिकेशनले प्रकाशन गरेको हो । रातोसको यो पहिलो कृति हो  जुन पुसमा सार्वजनिक भएको थियोे । कृतिको परिचर्चा पूर्वको पान्थरको फेदेन, इलाम, झापाको बिर्तामोड र दमक, पोखरा, चितवन र काठमाडौंमा भइसकेको छ । कलरव धरानले नियमित रूपमा विभिन्न लेखकहरूका कृतिउपर परिचर्चा कार्यक्रम आयोजना गरिरहेको संयोजक कवि सुदीप पाख्रिनले बताए ।