धरान: ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धरानका दुई जना महिला समाजसेवी तथा अधिकारकर्मीहरु सम्मानित भएका छन् । 

धरान उपमहानगरपालिकाको संयोजन र महिला सञ्जाल धरानको आयोजनामा समाजसेवी एवं सञ्जालका पुर्वअध्यक्षद्धय शिला बज्रचार्य र मीना पुलामी सम्मानित भएका हुन् । उपमहानगर तथा सञ्जालको संयुक्त आयोजनामा समाजसेवी बज्रचार्यलाई साथी अवार्ड प्रदान गरिएको हो । हरेक वर्ष अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिलाहरुको क्षेत्रमा योगदान पुराउने महिला तथा पुरुषलाई छनौट गरेर सम्मान गरिदै आएको छ । 

बज्रचार्य रेडक्रस सोसाईटी, आसारा सुधार केन्द्र, नेवार एकता समाज, शाक्य मजयुपुच, हातेमालो महिला समुह, वरगाछी महिला समुह, लगायत विभिन्न संघसस्थाहरुमा आवद्ध रहेर सामाजिक क्षेत्र तथा महिला अधिकारको क्षेत्रमा क्रियाशिल छिन् । उनले महिला प्रहरीका लागि आजिवन “उत्कृष्ट प्रहरी महिला पुरस्कार” को प्रबन्ध पनि गरेकी छिन् । साथै, हिंसा पिडित महिलाहरुका लागि कानुनी उपचारमा साथ दिने, विपन्न परिवारका महिलाहरुको लागि निःशुल्क स्वास्थ्य उपचारको पहल गर्नेलगायत कार्य गर्दै आएकोले साथी अवार्डबाट सम्मान गरिएको सञ्जालकी अध्यक्ष सपना राईले जानकारी दिइन् ।

mahila sanjal1

यस्तै, महिला हिंसाविरुद्ध विगत लामो समयदेखि पारालिगल, ल्याक महिला सशक्तिकरण संस्थाको माध्यमबाट सक्रिय रहेकी अग्रणी समाजसेवी मीना पुलामीलाई पनि सम्मान गरिएको छ । पीडितहरुलाई कानुनी उपचारमा परामर्श दिदै सम्बन्धित निकायसम्म पुगेर पीडितहरुलाई न्याय दिलाउन भुमिका खेलेको भन्दै पुलामीलाई कदर पत्रद्धारा सम्मान गरिएको छ । दुवै जनालाई धरानका मेयर हर्क साम्पाङ, सञ्जालकी अध्यक्ष सपना राई, धरानकी प्रमुख प्रशासकीय अधिकृत प्रज्ञा निरौलालगायतले संयुक्तरुपमा अवार्ड तथा सम्मान पत्र, दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

mahila sanjal2

कार्यक्रममा सम्बोधन गर्दै मेयर साम्पाङले महिलाहरु इमान्दार र जिम्मेवारीप्रति प्रतिवद्ध हुने भएकोले नेतृत्वमा आउनुपर्ने बताए । उनले महिला नेतृत्व भएमा भ्रष्टचारमा पनि कमी आउने भन्दै धरानको भावी नेतृत्वहरु मेयर र उपमेयर दुवैमा महिला आवोस् भन्ने आफ्नो चाहना रहेको पनि बताए । अहिले मेयर र उपमेयर दुवै पुरुष भएको भन्दै एक जना महिला भएको भए सन्तुलन मिल्ने पनि धारणा राखे । उनले महिलाहरु कुनै पनि कुरामा कम नभएको भन्दै राजनैतिक नेतृत्वमा आउन पनि सुझाव दिए ।

उपमेयर अइन्द्रबिक्रम बेघाले महिला अधिकार स्थापित गर्न जनयुद्ध, जनआन्दोलनको अहंम भुमिका रहेको बताए । कार्यक्रममा वीपी प्रतिष्ठानका चिकित्सक एवं ओसिएमसि प्रमुख डा.विकास साहले हिंसा पीडितहरुलाई निःशुल्क स्वास्थ्योपचार तथा मनोरामर्शको व्यवस्था रहेकोबारे जानकारी गराएका थिए । 

वतृत्वकलामा वडा ६ की अनुषा शर्मा प्रथम

mahila sanjal3

११४औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उपमहानगरपालिका र महिला सञ्जालको संयुक्त आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । धरान १२ स्थित होटल पुर्वीस्टारमा आयोजित प्रतियोगितामा धरानका १५ वटा वडाबाट १८ वर्ष उमेर माथिका महिलाहरुको सहभागिता रहेको थियो ।

“वर्तमान अवस्थामा महिलाका समस्या र समाधानका उपाय” शिर्षकमा आयोजित वत्तृmत्वकला प्रतियोगितामा वडा ६ की अनुषा शर्मा प्रथम भएकी छिन् । यसरी नै वडा १४ की विभुति कटुवाल दोस्रो भइन् भने वडा १६ की अनुष्का राई तेस्रो भइन् । वडा १७ की सबिता पुरीले सान्त्वना पुरस्कार पाइन् । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने प्रतियोगीहरुले क्रमशः  १० हजार, ८ हजार, ५ हजार र सान्त्वनालाई ३ हजार नगद, प्रमाणपत्र प्रदान गरिएको थियो ।

पुरस्कृतहरुलाई उपमेयर अइन्द्रबिक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत प्रज्ञा निरौला, समाजिक महाशाखा प्रमुख जुनु राई, सञ्जालकी पुर्वअध्यक्ष चेतना श्रेङले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको निर्णायकहरुमा वरिष्ठ पत्रकार हर्ष सुब्बा, महेन्द्र बहुमुखी क्याम्पसकी उपप्रध्यापक डा.अस्मिता बिष्ट, उपप्रध्यापक डा.सुभासचन्द्र न्यौपाने निर्णायक रहेका थिए । 

भिडियो:

भिडियो: