धरान: धरानका चर्चित गायक नवराम राईको उपचारका लागि हङकङबाट ३ लाख ७ हजार ९ सय रुपैया सहयोग आएको छ । 

धरान १८ रत्नचोक घर भई हाल हङकङमा बस्नुहुने अनिता सेनिहाङ लिम्वुको समुहबाट उक्त रकम सहयोग आएको हो । सहयोग रकम धरान १८ नम्बर वडाध्यक्ष नरेन्द्रकुमार राई प्रविण, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, अनिता सेनिहाङकी बहिनि गीता सेनिहाङ र धरान १८ रत्नचोक निवासी सानी राईले गायक राईकै घरमा पुगेर रकम हस्तान्तरण गरेका हुन्। 

सहयोग रकमको दुई लाख २४ हजार ९ सय रुपैया नवराम राईको खातामा हालिदिएका छन् भने बाँकी रकम ८३ हजार रुपैया उनकै हातमा प्रदान गरिएको थियो । सहयोग रकम अनिता सेनिहाङले हङकङमा रहेका रत्नचोक निवासी, आफु काम गर्ने कम्पनीका सहकर्मीहरु र आफ्नो समुहका साथीहरुसँग संकलन गरि नेपाल पठाएको उनकी बहिनी गीताले जानकारी दिए । 

       गुरासको फेद मुनि, कालो कालो रातको, वोलु भने दन्तैमा मोहनी जस्ता लोकप्रिय गितका गायक हुन नवराम राई । लामो समय धरान १७ रत्नचौक वसेका हाल राई ११ नं वडा स्थित रिटिङमा वस्दै आएका छन् । राईको दुवै मृगौलामा समस्या देखिएको छ । उनी करिव दुई हप्ता विपि अस्पतालमा उपचार गराई हाल घरमै आराम गरि रहेका छन् । 

उनको सातामा २ पटक डायलासिस गर्नुपर्ने हुन्छ । राईलाई थप उपचारको लागि आर्थिक समस्या भएपछि सहयोग भइरहेको छ। लामो समय सांगीतिक क्षेत्रमा बिताएका उनले करिब डेढ दर्जन गीत गाएका छन् भने केही गीतमा संगीत पनि भरेका छन् ।

तस्विरः बिकास चाम्लिङ राई