धरान: सुनुवार सेवा समाज प्रदेश नं १ को दोस्रो सम्मेलन यही बैशाख ८ गते धरानमा हुने भएको छ । 

समाजले आइतबार पत्रकार सम्मेलन गर्दै बैशाख ८ गते धरान १० स्थित सैनिक भवनमा प्रदेश सम्मेलन हुने जानकारी दिएको हो । समाजकी अध्यक्ष एसा सुनुवारका अनुसार सैनिक भवनमा सम्मेलनको उद्घाटन अघि बिहान ८ बजे धरान १२ स्थित पब्लिक स्कुलबाट वृहत र्याली हुनेछ । उक्त र्याली छाताचोक, माछाभौडी, देशीलाइन, पुतलीलाइन हुदै सैनिक भवनमा पुगेर टुंगिनेछ । 

सम्मेलनमा करिब ३ हजारको सहभागिता हुने अनुमान गरिएको आयोजकको भनाई छ । उद्घाटन सत्रको प्रमुख अतिथि प्रदेशका स्वास्थ्यमन्त्री प्रदिपकुमार सुनुवार रहनेछन् भने भोलीपल्ट (आइतबार) बन्द सत्रबाट नयाँ कार्यसमिति चयन हुने व्यवस्थापन समिति संयोजक टार्जन सुनुवारले जानकारी दिए । 

राष्ट्रिय आदिवासी जनजाति उत्थान प्रतिष्ठानमा सुचीकृत ६० आदिवासी जनजातिमध्ये सुनुवार जाति पनि एक हो । सुनुवारहरुको मुलथलो रामेछाप, ओखलढुंगा, सिन्धुली, दोलखा भएपनि पछिल्लो समय प्रदेश १ का १४ वटै जिल्लाहरुमा बसोबास रहेको छ । तर समाजको संस्थागत संगठन भने सोलुखुम्बु, खोटाङ र तेह्रथुमबाहेकका ११ जिल्लामा मात्र रहेको छ । 

पछिल्लो जनगणनाको तथ्यांक अनुसार करिब ८० हजार मात्र सुनुवारहरुको जनसंख्या देखाइएको छ । तर उक्त संख्या यथार्थ नभएको र त्यो भन्दा धेरै संख्या भएको टार्जन सुनुवारको दाबी छ । सुनुवार भाषा बोल्ने संख्या पनि घट्दो दरमा रहेकोले अगुवाहरुलाई चिन्तित बनाएको पनि उनले बताए । भाषा बोल्ने संख्या करिब ३० हजारको हाराहारीमा मात्र रहेको पनि समाजको भनाई छ ।