धरान: तेस्रो सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा वडा नं १७ र ६ ले बराबरी खेलेको छ । 

धरान १६ स्थित रंगशालामा सोमबार भएको खेलमा १ १ गोलको बराबरी खेलेपछि वडा १७ र ६ ले अंक पनि बाँडेको छ । समुह बीतर्फ यसअघि वडा ११ र १८ ले पनि बराबरी खेल्दै एक एक अंक बाँडेको थियो । समुह बीमा रहेका ४ वटै टिमको समान एक एक अंक भएको छ ।

सोमबार भएको खेलमा पहिलो हाफको २२ औं मिनेटमा वडा १७ का फुर्वा तामाङ (सुरज)ले गोल गरेका थिए । तर दोस्रो हाफको ७५ औं मिनेटमा वडा ६ का विवेक पौडेलले बराबरी गोल गरेपछि दुवै टोलीले अंक बाँड्न बाध्य भयो । वडा १७ का मिलन राईले ८२ औं मिनेटमा रातो कार्ड पाएका थिए । उक्त खेलको म्यान अफ दि म्याच वडा १७ का कृष्ण राई घोषित भए । मंगलबार वडा १४ र वडा ५ ले लिग चरणको दोस्रो खेल खेल्नेछ । 

भेट्रान प्रतियोगितामा दुहबी विजयी

हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता पनि सोमबारदेखि धरानमा शुरु भएको छ । धरान १६ स्थित रंगशालामा भएको उद्घाटन खेलमा दुहबी भेट्रान फुटबल क्लब विजयी शुरुवात गरेको छ । 

दुहबीले मिल्स भेट्रान फुटबल क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्यो । दुहबीका रुद्रबहादुर खड्काले २० औं र ५७ औं मिनेटमा २ गोल गरेका थिए भने सन्तोष कुमारले २६ औं मिनेटमा र श्रीनारायण भगतले ३४ औं मिनेटमा गोल गरेका थिए । 

मिल्स भेट्रानका इन्द्रकुमार राईले ५५ औं मिनेटमा गरेको गोल सान्त्वनामा सिमित भयो । उक्त खेलको म्यान अफ दि म्याच रुद्रबहादुर खड्का घोषित भए । प्रतियोगितामा मंगलबार मेघा भेट्रान र आयोजक हाम्रो धरान भेट्रानबीच खेल हुनेछ ।